News

'संविधान कार्यान्वयनका लागि संशोधन'

'संविधान कार्यान्वयनका लागि संशोधन'
bimalendra-nidhi-chitwanमंसिर - २१  । उपप्रधान एवम गृह मन्त्री विमलेन्द्र निधिले संविधान कार्यान्वयनका लागि संविधान संशोधन प्रस्ताव ल्याउनुुपरेको बताएका छन्। पूर्वी चितवनको जयमङ्गलास्थित श्रीराम मन्दिरमा आयोजित श्रीमद् भागवत धान्याचल ज्ञान महायज्ञ शुभारम्भ गर्दै उनले संविधान संशोधनको पक्षमा वातावरण बनाइदिन सबैसँगै आग्रह गरे । प्रदेशको निर्माणले देश नटुक्रिनेमा जोड दिंदै उपप्रधानमन्त्री निधिले भने, “७५ जिल्ला हुँदा के नेपाल टुक्रिएको छ ? भ्रममा नपर्नुहोस्, प्रदेशको निर्माणले देश टुक्रिँदैन।” संविधान कार्यान्वयन अहिलेको महत्वपूर्ण चुनौती भएकाले संशोधन प्रस्तावमा एकमत हुन नसके संविधान कार्यान्वयनमा भने कठिनाइ पर्ने बताए । एक घरमा धेरै दाजुभाइ हुन सक्छन् उनीहरु छुट्टिएर अंश भाग लगाउँदा परिवार विखण्डन हुँदैन बरु छुट्टाछुट्टै रहेर व्यवस्थित र आर्थिकरुपले समृद्धि गर्न सकिने हुँदा संशोधनप्रस्तावबाट डराउनु पर्ने अवस्था नरहेको उनले उल्लेख गरे । महाभारतको पाठ सुन्दा संविधान संशोधन गर्नु पर्नाको कारण बुझ्न सकिन्छ भन्दै उपप्रधानमन्त्री निधिले भने 'महाभारतमा पनि ठूलो राजनीति छ, अहिले हामीले भोगेको भन्दा बढी राजनीति त्यहाँ छ ।' आफू हिन्दूवादी भएको भन्दै मन्त्री निधिले हिन्दू धर्मले सबै धर्मको रक्षा गर्ने हुँदा सबै धर्मका लागि सहज धर्म भएको बताए । कार्यक्रम संयोजक भेषराज दुवाडीले श्री राम मन्दिरले सञ्चालन गरेको श्रीराम बैद्धिक संस्कृत गुरुकुललाई उत्तरमध्यमासम्म सञ्चालनका लागि महायज्ञको आयोजना गरिएको जानकारी दिए । हाल कक्षा ६ देखि १० सम्म पढाइ भइरहेको सो गुरुकुलमा ५० जना विद्यार्थी अध्ययनरत छन् । रासस

विमलेन्द्र निधि संविधान संशोधन

विशेष