इतिहासमा आज Technology News

उल्कापिण्ड लागेर घाइते भएको त्याे दिन

उल्कापिण्ड लागेर घाइते  भएको त्याे दिन

मंसिर २२ । आजभन्दा लगभग ६ करोड ६० लाख वर्षअघि एउटा उल्कापिण्ड पृथ्वीमा खसेको थियो । त्यसले पृथ्वीको सतह र वायुमण्डलमा यति ठूलो विनाशलीला मच्चायो, त्यतिबेला पृथ्वीमा पाइने जन्तु डायनोसर लोपै भएर गए । अन्य स्तनधारी र घस्रने जीवजन्तुको पनि विनाश भएको वैज्ञानिक अनुसन्धानले देखाएको छ ।

slet

के त्यसपछि उल्कापिण्डसँग पृथ्वीको सामना कहिल्यै भएन ?

सन् १४९० मा चीनको गान्सु प्रान्तमा उल्कापिण्ड टुक्रिएर ढुंगाको वर्षा भएको र करिब १० हजार मानिसको ज्यान गएको चिनियाँ इतिहास छ । उक्त घटनालाई अनुसन्धानकर्ताहरूले अझै पुष्टि भने गरेका छैनन् ।

सन् १९५४ नोभेम्बर ३० मा उल्कापिण्ड लागेर एक महिला घाइते भएकी थिइन । त्यस दिन अपराह्मन पौने ३ बजे अमेरिकाको अलाबामा राज्यमा पर्ने सिलाकाउगं भन्ने ठाउँमा आकाशबाट आगोको मुस्लो झर्यो, जसलाई अमेरिकाका तीन राज्यबाट देखिएको थियो। आकाशबाट पृथ्वीमा खसेको त्यही आगोको मुस्लो नै उल्कापिण्ड थियो ।

त्यसको अधिकांश भाग पृथ्वीको वायुमण्डलमा छिर्दासम्म जलेर धुवाँ भइसकेको थियो । करिब चार किलो तौलको एउटा टुक्रा भने उछिट्टिएर हजारौं माइल प्रतिघन्टाको गतिमा जमिनतिर खस्यो । त्यसले होजेज बस्ने घरको छानो छेड्यो । कोठामा रहेको ठूलो रेडियोलाई धुलोपिठो नै बनायो ।

त्यतिबेला होजेज सिरक ओढेर सोफामा झकाउँदै थिइन् । एकाएक कुनै अज्ञात वस्तु आगो ओकल्दै छत छेडेर कोठाभित्र छिरेपछि उनको तन्द्रा भंग भयो । उनी सम्हालिनै पाएकी थिइनन, त्यो वस्तु भुइँमा बज्रियो । त्यसको एउटा हिस्साले उनको कम्मरमा पनि चोट पुर्यायो ।

यो ढुंगा होजेजमाथि खसेको उल्कापिण्डको टुक्रा होइन । उल्कापिण्डको यो पाँच इन्च लामो टुक्रा साइबेरियामा फेला परेको थियो ।  उल्कापिण्ड लागेर घाइते हुनु होजेजको दुर्भाग्य थियो । तर, त्यही दुर्भाग्यले उनी रातारात संसारभरि प्रसिद्ध भइन् ।

उनी विश्व इतिहासकै एक मात्र यस्ता व्यक्ति हुन, जो उल्कापिण्ड लागेर घाइते भए ।

विरलै हुने यस्तो घटनामा स्वाभाविक रूपले सबैको चासो गयो । होजेजलाई सबैले चिने । उनलाई घाइते बनाए पनि एकाएक कोठाभित्र छिरेको त्यो उल्कापिण्ड ब्रह्माण्डसम्बन्धी वैज्ञानिक खोजको निम्ति ब्रह्मास्त्र नै साबित हुन सक्थ्यो । उनले त्यसलाई बेचेर राम्रो मूल्य पाउन सक्थिन् ।

तर, त्यो उल्कापिण्ड बिक्री गर्नु होजेजका लागि सहज थिएन । होजेज जुन घरमा बस्थिन, त्यो उनको आफ्नो थिएन । घर मालिक्नी आफ्नो सम्पत्तिमा भौतिक क्षति पुर्याउने त्यो उल्कापिण्डमाथि हकदाबी गर्न आइपुगिन् । उनले त्यसको स्वामित्व र बिक्री गर्ने अधिकार आफ्नो भएको दाबी गरिन् ।

लामो कानुनी लडाइँ सुरु भयो । कानुनतः उक्त उल्कापिण्ड घर मालिक्नीकै हुन्थ्यो । तर, अधिकांश सर्वसाधारणको सहानुभूति उल्कापिण्ड लागेर घाइते भएकी होजेजको पक्षमा गयो ।

यसैमा लामो कानुनी लडाइँ लड्दा–लड्दै होजेज शारीरिक र मानसिक रूपले कमजोर हुँदै गइन् । अन्त्यमा घर मालिक्नीले मुद्दा फिर्ता लिएपछि बल्ल त्यो उल्कापिण्ड होजेजको स्वामित्वमा गयो ।

दुर्भाग्य त के भने, जतिबेला होजेजले उल्कापिण्डको कानुनी स्वामित्व पाइन, त्यतिबेलासम्म मानिसको चासो नै हराइसकेको थियो। कसैले पनि त्यो वस्तु किन्न रुचि देखाएनन् । अन्त्यमा उनले ‘अलबामा म्युजियम अफ नेचुरल हिस्ट्री’ लाई त्यो वस्तु दान गरिन् ।

घटना तात्तातो भएका बेला आकाशबाट खसेको त्यो ढुंगामा सबैको चासो थियो । मान्छे जति पैसा हाल्न पनि तयार भएर आएका थिए । कतिसम्म भने, त्यही ढुंगाबाट उछिट्टिएको एउटा अंश छिमेकको एक जना किसानले भेटेको थियो । उसले त्यो ढुंगाको टुक्रा बेचेर आएको पैसाबाट एउटा घर र एउटा कार किन्यो ।

होजेजको जीवनमा भने त्यो पिण्ड श्रापजस्तै भयो ।

त्यो घटनापछि होजेजको आफ्ना पतिसँग सम्बन्ध विच्छेद भयो । मिर्गौलाले काम नगरेपछि उनको पनि ५२ वर्षको उमेरमै निधन भयो । होजेजकै सम्झनामा आज पनि त्यो उल्कापिण्डलाई ‘होजेज पिण्ड’ भनिन्छ । होजेज पिण्ड पृथ्वीमा खसेको एक साता अघि मात्र ६२ वर्ष पूरा भएको छ । त्यसयता र त्यसअघि पनि आकाशबाट खसेको उल्का कुनै व्यक्तिमाथि बज्रिएको घटना सुनिएको छैन ।

आफ्नो बाटोमा घुमिरेका उल्कापिण्डहरू कहिलेकाहीँ अचानक सौर्यमण्डलभित्र छिर्छन् । अनपेक्षित बाह्य तत्वको प्रवेशले कुनै परिवारमा हलचल ल्याएजस्तै यस्तो उल्कापिण्डको प्रवेशले पनि सौर्यमण्डल परिवारमा हलचल ल्याउँछ । त्यस्ता उल्कापिण्ड सौर्यमण्डलभित्र छिर्दा कहिले पृथ्वी त कहिले अन्य ग्रहसँग ठोक्किने गर्छ । भविष्यमा पनि आकाशबाट उल्कापिण्ड खसेर पृथ्वीसँग ठोक्किन सक्ने वैज्ञानिकहरूको भनाइ छ । सन् १९९२ मा न्यूयोर्कको पिकस्किल भन्ने ठाउँमा उल्कापिण्ड खसेर एक महिलाको कारमा बज्रिएको थियो । यो घटनामा ती महिला घाइते त भइनन, तर कार मर्मतको खर्चले उनलाई पक्कै घाइते बनाएको हुनुपर्छ ।

सन् २००३ मा अमेरिकाको न्यू ओर्लियन्समा उल्कापिण्ड खसेर एउटा घरको छानो छेडेको थियो । संजोगले यो घटनामा पनि कोही घाइते भएनन् । नेसनल जियोग्राफीका ब्रायन होवार्डका अनुसार पेरुमा त्यस्तै पिण्डबाट निस्किएको आर्सेनिक पदार्थ खानेपानीको स्रोतमा मिसिएर पानी पिउने मानिस बिरामी परेका थिए ।

सन् २०१३ मा मध्य रसियामा अर्को आकाशे पिण्ड बज्रिएको थियो । त्यसले ल्याएको कम्पनले नै १ हजार २ सय जना घाइते भएका थिए भने ३३ लाख डलर बराबर क्षति भएको थियो ।

वैज्ञानिकहरूका अनुसार आकाशे पिण्ड खसेर मानिसको मृत्यु नै हुने सम्भावना अत्यन्त कम हुन्छ । यो सम्भावना भनेको १६ लाखमा १ मात्र हो। जबकि, चट्याङ लागेर मान्छेको मृत्यु हुने सम्भावना १३ लाखमा १ हुन्छ ।

तैपनि एउटा कुरा भने भन्न सकिन्छ, ६ करोड ६० लाख वर्षअघि उल्कापिण्ड खसेर डायनोसर लगायत जीवजन्तु लोप भएजस्तै अब हामी सबै मानव जति पनि उल्कापिण्डकै असरले लोप हुने सम्भावना कमै छ ।

एजेन्सीकाे सहयोगमा

Ulka Pinda

विशेष