अपराध सुरक्षा News

सरकारद्वारा सम्झौता विपरित कार्य, डा केसीको कडा आपत्ती [विज्ञप्तिसहित]

सरकारद्वारा सम्झौता विपरित कार्य, डा केसीको कडा आपत्ती [विज्ञप्तिसहित]
मंसिर - २२ ।  सम्झौता उल्लंघन नगर्न प्रा डा गोविन्द केसीले सरकारलाई आग्रह गरेका छन् । २२ मंसिरमा प्रेस विज्ञप्ती जारी गर्दै चार दिन अघि भएको सम्झौता उल्लंघन नगर्न आग्रह गरेका हुन् । चार दिन अघि सरकारले डा केसीसँग सम्झौता गरेको थियो । सम्झौतापछि उनले २२ दिन लामो अनसन तोडेका थिए । डा केसीले सम्झौता भएको एक साता नवित्दै त्यसका विरुद्ध सरकार लागेको समाचार आउनु आपत्तिजनक भएको जनाएका छन् । सम्झौता विपरित मेडिकल कलेजलाई सम्बन्धन दिन लाग्नु र त्यसमा पनि प्रधानमन्त्री र शिक्षामन्त्री नै संलग्न हुनु आपत्तिजनक भएको जनाएका हुन् । ‘चिकित्सा शिक्षा ऐन नआउन्जेल कुनै पनि वहानामा नयाँ मेडिकल कलेज नखोल्ने सम्झैता भएकोमा अहिले रातारात विस्तारित कार्यक्रमका नाममा एउटा मेडिकल कलेजलाई केयुले सम्बन्धन दिने र त्यसबापत गम्भीर अनियमिततामा मुछिएका केयुका अहिलेका पदाधिकारीलाई फेरि अर्को कार्यकालका लागि नियुक्ति दिने प्रपञ्च अब छर्लंग भएको छ,’ विज्ञप्तिमा भनिएको छ । साथै सम्झौता उल्लंघन भए सह्य नहुने विज्ञप्तीमा जनाएको छ । त्यस्तै काठमाडौं विश्वविद्यालयको उपकुलपति छनौट समितिका सदस्य दमननाथ ढुङ्गाना र सुरेशराज शर्मालाई स्वविवेकले योग्य व्यक्ति छनौट गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री र शिक्षामन्त्रीको दवावमा काम गर्नु भन्दा राजीनामा दिन अनुरोध गरेका छन् ।
प्रेस विज्ञप्ती लामो समयको संघर्षपछि स्वास्थ्य र मेडिकल शिक्षाको क्षेत्रमा हँदै गरेका सुधारहरुको मर्म्विपरीत तथा पछिल्लो सम्झौता भएको एक साता पनि नबित्दै सरकारले त्यसविपरीत एक मेडिकल कलेजलाई सम्बन्धन दिन लागी परेको भन्ने समाचारहरु आइरहेका छन् । चिकित्सा शिक्षा ऐन नआउन्जेल कुनै पनि वहानामा नयाँ मेडिकल कलेज नखोल्ने सम्झैता भएकोमा अहिले रातारात विस्तारित कार्यक्रमका नाममा एउटा मेडिकल कलेजलाई केयुले सम्बन्धन दिने र त्यसबापत गम्भीर अनियमिततामा मुछिएका केयुका अहिलेका पदाधिकारीलाई फेरि अर्को कार्यकालका लागि नियुक्ति दिने प्रपञ्च अब छर्लंग भएको छ। यस्तो जालझेलमा प्रधानमन्त्री पुष्प कमल दाहाल र शिक्षामन्त्री धनिराम पौडेल खूलेर लाग्नु आपत्तिजनक कुरा हो। आफैंले गरेको सम्झौता चार दिन नबित्दै आफैं उल्लंघन गर्ने मानिसहरुले योे देशकै नेतृत्व गर्ने दुर्भाग्यपूर्ण अवस्थामा हामी छौं । यो अवस्थामा हाम्रो अभियानमा निरन्तर जुटिरहने मिडिया र नागरिक समाजलाई राज्यको यस्तो छलकपट रोक्न तत्काल आआफ्नो ठाउँबाट जुट्न म आव्हान गर्दछु । देशको प्रधानमन्त्री र शिक्षामन्त्रीले नागरिकहरुलाई दिने धोका र नागरिकहरुप्रति गर्ने गद्दारी कुनै पनि हालतमा सह्य हुनु हुँदैन । केयूका उपकुलपति छान्ने सर्च कमिटिमा रहेका व्यक्तिहरु दमननाथ ढुंगाना र सुरेशराज शर्मालाई पनि या त स्वविवेकले योग्य र स्वच्छ व्यक्तिको छनोट गर्न वा तत्काल कमिटिबाट राजीनामा गर्न म विशेष अनुरोध गर्दछु । उहाँहरुको उचाइको व्यक्तिले एउटा मेडिकल कलेजको सम्बन्धनसित सौदावाजी गरेर प्रधानमन्त्री र शिक्षामन्त्रीले जबर्जस्ती बनाउन खोजेको व्यक्तिको नाम सदर गर्नुहुनेछैन भन्ने मलाई विश्वास भएका कारण मैले यस्तो अनुरोध गर्नुपरेको हो । धुलिखेल अस्पताललाई स्थापित र विकास गर्न अहम् भुमिका खेलेका व्यक्तित्व रामकण्ठ मकाजूको त्यस खालको भुमिकाको सराहना गर्दै हामी के भन्न बाध्य छौं भने नेपालमा आधा जति डाक्टर उत्पादन गर्ने काठमाडौं विश्वविद्यालय अन्तर्गत मेडिकल शिक्षाको गुणस्तरमा उहाँको नेतृत्वमा आइरहेको ह्रास र त्यसले लाखौं नेपालीहरुको स्वास्थ्यमा निम्त्याएको जोखिम अक्ष्यम्य छ । विश्वविद्यालयले निजी मेडिकल कलेजहरुलाई नियमन गर्नुको सट्टा निजी मेडिकल कलेजको इशारामा विश्वविद्यालय चल्ने अहिलेको अवस्था तत्काल बन्द हुनुपर्छ । अन्तमा राज्यले लामो समयदेखि लिएको नीति र केही दिन अगाडि मात्र गरेको सम्झौताको प्रतिकुल हुने गरी नेपाल मेडिकल काउन्सिलले कुनै निर्णय गर्ने छैन र गरिसकेको भए त्यसलाइृ तत्काल रद्ध गर्नेछ भन्ने मेरो विश्वास छ। यदि यत्रो चेतावनी दिंदादिंदै पनि सम्झौताको प्रतिकुल हुने गरी कुनै पनि काम अघि बढेको खण्डमा त्यसको कडाभन्दा कडा प्रतिकार गर्न तयार रहेको पनि सबै पक्षलाई जानकारी गराउँछु। त्यो अवस्थामा उत्पन्न हुन जाने असहज परिस्थितिका लागि मुलतः सम्झौताप्रति गद्दारी गर्ने प्रधानमन्त्री र शिक्षामन्त्री हुनेछन् । डा गोविन्द केसी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौं २०७३।८।२२

प्रा. डा. गोविन्द केसी प्रेस विज्ञप्ती

विशेष