घानामा राष्ट्रिय महानिर्वाचन
मंसिर २२ । पश्चिमी अफ्रिकाली राष्ट्र घानामा बुधबार आमनिर्वाचन शुरु भएको छ । त्यहाँको बालिग मताधिकार सूचिमा एक करोड पचासलाख भन्दा बढी मतदाताहरुको नाम दर्ता भएको छ ।
मुलुकभरका २९ हजार मतदान केन्द्रहरु बुधबार बिहान ०७ः०० बजेदेखि नै खुल्ला रहेका छन् । यस निर्वाचनमा वर्तमान राष्ट्रपति जोहन ड्रामानि महामा र संसद्को सबभन्दा ठूलो बिपक्षी दल – न्यु प्याट्रियोटिक पार्टीका नेता नाना आकुफो अड्डोबीच कडा प्रतिस्पर्धा हुन गइरहेको छ ।
राष्ट्रपति महामा सत्तारुढ दल – नेसनल डेमोक्र्या्टिक काँग्रेसबाट छन् । यसपालिको आम निर्वाचनमा उनी दोस्रो र अन्तिम पटक उठेका हुन् । घानामा निर्वाचित राष्ट्रपतिको कार्यकाल चार वर्षको हुन्छ ।
बहूसंख्यक घानी जनतामाझ राष्ट्रपति महामा लोकप्रिय र सम्मानित हुनु भएता पनि उनको प्रथम चार बर्षे कार्यकालमा मुलुकमा आर्थिक बिकासको गति अत्यन्त मन्द भएको, राष्ट्रिय रोजगारीको संख्यामा बृद्धि नभएको र देश चर्को मूल्यबृद्धिको मारमा परेको जस्ता आरोप लगाइँदै आएको छ ।
स्थानीय समयानुसार आज बेलुकी पाँच बजेपछि मतदान केन्द्र बन्द गरिने र निर्वाचन परिणाम आगामी शुक्रबारसम्म घोषणा गरिने घानाको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रपतिको पदका अतिरिक्त मुलुकका दुइसय पचहत्तर जना सांसद्हरुको पनि आजै निर्वाचन हँुदैछ । घानामा निर्वाचित सांसद्हरुको कार्यकाल पनि चार वर्षकै रहेको छ ।
electio in Ghana