News

दश वर्षभित्र देशमै रोजगारीको सिर्जना हुन्छ : मन्त्री जोशी

दश वर्षभित्र देशमै रोजगारीको सिर्जना हुन्छ : मन्त्री जोशी
मंसिर–२२ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले आगामी १० वर्षभित्र देशका युवाहरुलाई देशभित्रै रोजगारीको सिर्जना गर्ने लक्ष्य रहेको बताएका छन् । उद्योग मन्त्रालयद्वारा बुधबार आयोजित वार्षिक सयुंक्त समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले विदेशिएकारोजगारी युवाहरुलाई नेपालमै राजेगारीको प्रशस्त सम्भावना रहेको बताए । उनले देशको ठूलो जनशक्ति युवा जगत विदेसिएकोमा चिन्ता व्यक्त गरे । विदेशमा रोजगारीमा जाने युवाहरुलाई सम्बन्धित कामको दक्ष क्षमता तालिम दिएर पठाउन सकेमा राम्रो परिणाम आउन सक्ने उनको विश्वास थियो । उनले स्वदेशी पुँजीलाई देशभित्र रहेका उद्योगहरुमा लगानी गर्नु जरुरी रहेको बताएका छन् । मन्त्रालयका सचिव शङ्करप्रसाद कोइरालाले गरिबी निवारण र रोजगारी सिर्जनाका लागि लघु उद्यम विकास कार्यक्रम (मेडेपा) प्रभावकारी बन्दै गइरहेको बताए । उक्त कार्यक्रम ग्रामीण क्षेत्रका समुदायलाई लक्षित गरेर सन् १९९८ देखि राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को सहयोगमा सञ्चालन भएको थियो । हाल सो कार्यलाई अस्ट्रेलिया सरकारबाट समेत सहयोग प्राप्त भइरहेको उनले बताए । गरिबीको रेखामुनि रहेका र सामाजिकरुपमा पछाडि पारिएका समूहका व्यक्तिलाई रोजगारी तथा स्वरोजगार प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित मेडेपाले २०७३ भदौसम्ममा ७६ हजार लाभान्वित भएको तथ्याङ्कले देखाएको छ । मेडेपाले ९७ हजार ६७३ मानिसलाई दीर्घकालीन रोजगारी सिर्जना गरेको छ । जसमध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष रहेको बताइएको छ । हाल देशका ३८ जिल्लामा मेडेपा सञ्चालन भइरहेको छ । मेडेपाले सेवामूलक, हस्तकला, कृषि र वन पैदावरमा आधारित कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताइएको छ । जसअनुसार कृषिमा आधारित ५३ हजार ७४१ उद्यमी रहेका छन् । यसबाट प्रत्यक्षरुपमा वार्षिक प्रतिव्यक्तिको आम्दानी रु एक लाख ५८ हजार ६२६ रहेको तथ्याङ्कले देखाएको छ । सो अवसरमा मन्त्री जोशीले मन्त्रालयकी सहसचिव एवम् मेडेपाका राष्ट्रिय कार्यक्रम निर्देशक यामकुमारी खतिवडालाई कदरपत्रद्वारा सम्मान गरेका थिए । यसैगरी मेडेपाका प्रमुख सल्लाहकार लक्षमण पुन र संयुक्त राष्ट्रसङ्घीय कार्यक्रम निर्देशक नवीना श्रेष्ठलाई समेत कदरपत्रबाट सम्मान गरिएको थियो । रासस

उद्योगमन्त्री नवीन्द्रराज जोशी रोजगारी

विशेष