News

संविधान संशोधन प्रस्ताव फिर्ता हुँदैन : प्रधानमन्त्री दाहाल

संविधान संशोधन प्रस्ताव फिर्ता हुँदैन : प्रधानमन्त्री दाहाल
मंसिर–२२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रलाई एकताबद्ध बनाएर चुनावमा जाने ध्येयले व्यवस्थापिका–संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गरिएको बताएका छन् । बुधबार सुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले कसैलाई विभेद र बहिष्करणमा पार्ने तथा अपमानित गर्ने मनसायले संशोधन प्रस्ताव दर्ता नगरिएको स्पष्ट पारे । मंगलबार नेपाली काँग्रेस र नेकपा (एमाले)को सरकार रहेका बेला सीमाङ्कनका सवालमा पाँच नं प्रदेशको पहाड र तराईका सवालमा गरिएको प्रस्तावलाई आधार बनाएर अहिले संशोधनको प्रस्ताव गरिएको बताउँदै उनले भने, “केपी ओलीले गर्दा त्यही प्रदेश राम्रो हुने, प्रचण्डले त्यसरी नै प्रदेश बनाउन खोज्दा राष्ट्रवाद नहुने भन्ने हुँदैन ।” संसद्मा दर्ता भएको संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता नहुने बताउँदै उनले संशोधनको विरोधमा उत्रेकालाई छलफल र संवादमा आउन आग्रह गरे । उनले भने – “संशोधन प्रस्ताव कुनै नयाँ आविष्कार गरेर दर्ता गरेको होइन । हिजो सबैले प्रस्ताव एवम् सहमति गरेको विषयकै वरिपरि रहेर नै यो प्रस्ताव दर्ता गरिएको हो ।” प्रधानमन्त्री दाहालले संविधान संशोधनप्रति केही विरोधका स्वर देखिएको भए पनि मधेसी, थारु, आदिवासी जनजातिमाझ पनि संविधानको स्वीकार्यता बढाएर देशलाई निर्वाचनमा लैजाने सङ्कल्प आफूले गरेको उल्लेख गरेका छन् । सुदूरपश्चिमको विकासका लागि गौरीफन्टा नाकाको स्तरोन्नति गर्ने, पञ्चेश्वर परियोजनालाई अगाडि बढाउने, खप्तड–रामारोशनलगायत पर्यटकीय क्षेत्रका विकासका लागि सहुलियत ऋण उपलब्ध गराउन पहल गर्ने वतनबद्धता पनि उनले व्यक्त गरे । प्रधानमन्त्री दाहालले वन पैदावर र जडीबुटीमा आधारित उद्योगको विकास गर्ने, चमेलिया जलविद्युत् आयोजना समयमै सम्पन्न गर्ने र पश्चिम सेती जलविद्युत् आयोजनाको काम चिनियाँ कम्पनीसँग मिलेर अघि बढाउने तयारी भइरहेको बताए । शिक्षा र स्वास्थ्यका क्षेत्रमा प्रादेशिक विश्वविद्यालय र मेडिकल कलेज स्थापना गर्ने सरकारको नीति रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले मुक्तकमैयाको पुनःस्थापनालाई तीव्र बनाइनुका साथै ‘प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजना’अन्तर्गत कैलालीलाई गहुँको ‘सुपर जोन’ बनाउने कार्यक्रम कार्यान्वयन गर्न लागिएको बताएका छन् । कार्यक्रममा सांसद पुष्करनाथ ओझाले सुदूरपश्चिमको विकासका लागि ध्यान दिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । उहाँले धनगढीलाई ‘स्मार्ट सिटी’का रुपमा विकास गर्न गुरुयोजना बनिरहेकाले यसमा सबै पक्षबाट सहयोग हुनुपर्नेमा जोड दिए । समारोहमा विभिन्न क्षेत्रमा योगदान पुर्याएबापत युवा उद्यमी विवेक भट्ट, मीना बोहरा, शिक्षिका मनोरमा श्रेष्ठ, डा चन्द्रप्रकाश पाण्डे, मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशी र उत्कृष्ट कृषक इन्द्रा चौधरीलाई प्रधानमन्त्री दाहालले सम्मानित गरेका थिए । सोही समारोहमा हालै निधन भएका सुदूरपश्चिमका पत्रकार स्व कर्ण बोहरालाई मरणोपरान्त सम्मान प्रदान गरिएको थियो । प्रधानमन्त्रीलाई सोह्र किलोको माला समारोहमा महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष शङ्कर बोगटीले प्रधानमन्त्रीलाई सुदूरपश्चिमको विकासलाई सम्बोधन गर्ने १६ सूत्रीय मागसहित ज्ञापनपत्र पेस गर्दै १६ किलोको माला लगाइदिए । अध्यक्ष बोगटीको अध्यक्षतामा भएको समारोहमा नेकपा (माओवादी केन्द्र)का नेता लेखराज भट्टले सुदूरपश्चिमको विकासमा देखिएका समस्याबारे आफ्नो भनाइ राखेका थिए । आगामी पुस २ गतेसम्म सञ्चालन हुने महोत्सवमा कृषि, व्यापार र प्रविधिसँग सम्बन्धित २६० वटा बिक्री तथा प्रदर्शनी कक्ष राखिएका छन् । ‘दिगो शान्तिका लागि आर्थिक समृद्धि’ भन्ने मूल नाराका साथ यो महोत्सव आयोजना गरिएको हो । रासस

पुष्पकमल दाहाल ‘प्रचण्ड’ संविधान संशोधन

विशेष