राजनीति News समाज

महिलामाथि राजनीतिक हिंसा

महिलामाथि राजनीतिक हिंसा
मंसिर २३ । राजनीतिक दलका नेत्रीहरुले पार्टीभित्र पनि आफूहरुमाथि राजनीतिक हिंसा हुने गरेको बताएका छन् । महिलाहिंसाविरुद्ध १६ दिने अभियानको सन्दर्भमा संकल्प नामक संस्थाले आज आयोजना गरेको ‘महिलामाथि हुने राजनीतिक हिंसा’ विषयको छलफल कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसालले राजनीतिमा महिलामाथि हिंसा हुने गरेको बताइन् । उनले राज्यका प्रत्येक निकायमा उम्मेदवारी ३३ प्रतिशत महिलाको नभई परिणाम ३३ प्रतिशत महिलाको हुनुपर्नेमा जोड दिइन् । नयाँ शक्ति नेपालका नेत्री हिसिला यमीले राजनीतिक हिंसा पार्टीभित्र हुने गरेको उल्लेख गर्दै संसद्मै बोल्न खोज्दा ‘तिमीलाई रुप देखाउन ल्याएको’ भन्ने जस्ता लज्जास्पद शब्द प्रयोग हुने गरेको स्मरण गरिन् । नेकपा (एमाले) नेत्री कल्याणी रिमालले राजनीतिक दलहरुमा हिंसा गर्नेलाई प्रवेश नै गर्न दिन नहुनेमा जोड दिँदै कुन–कुन शब्दको प्रयोग गर्दा हिंसा हुन्छ भन्ने कुरालाई पनि बोल्दाखेरी ध्यान दिनुपर्ने आवश्यकता औँल्याइन् । फेडो नामक संस्थाका महासचिव रेणु सिजापतीले महिलाले राजनीति गर्दा दोहोरो शोषणमा पर्नु परेको उल्लेख गर्दै परिवार र पार्टी दुवैमा महिलामाथि हिंसा हुने गरेको बताइन् । सहभागीले राजनीतिमा शारीरिक तथा मानसिक हिंसा हुने गरेको, नेत्रीहरुको क्षमता र योग्यताको ख्याल नगरी निर्वाचन गर्दा र समानुपातिकमा टिकट दिँदा पनि पकेटको मान्छेलाई दिने गरेको गुनासो राखेका थिए ।

women voilence in politics

विशेष