News स्वास्थ्य

कलेजो प्रत्यारोपण नियमित गरिने

कलेजो प्रत्यारोपण नियमित गरिने

मंसिर - २३ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले कलेजो प्रत्यारोपणलाई निरन्तरता दिन सरकार जुनसुकै सहयोग गर्न तयार रहेको बताएका छन् । मानव अङ्ग प्रत्यारोपण केन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दक्षिण कोरियाको विशेषज्ञ टोलीबाट कलेजो प्रत्यारोपण सफल भएको बताउँदै नेपालमै केही महिनाभित्रै कलेजो प्रत्यारोपण गर्न सक्ने गरी यहाँका चिकित्सकलाई तयार गर्न स्वदेश तथा विदेशमा तालिम दिनुपर्ने भए पठाउन सरकार तयार रहेकाे बताए । दक्षिण कोरियाको सियोलस्थित सामसुङ मेडिकल सेन्टरबाट आएको विशेषज्ञ टोलीमा प्रा डा जे–वन जो, प्रा डा चुन ह्युक डेभिड वन, प्रा डा ग्यु –सिओङ चोे, चान वु चो र डा जस्टिन साङ्उक थिए । यहाँका चिकित्सक टोलीले निर्धक्क भएर कलेजो प्रत्यारोपण गर्न सक्ने नभएसम्म कोरियाको सो टोलीको सहयोग लिइने र त्यसपछि विदेशी चिकित्सकको सहयोगबिना नै प्रत्यारोपण गरिने बताइएको छ । केन्द्रले बुधबार यहाँ नौ घन्टा लगाएर भक्तपुर निवासी ३६ वर्षीय बलराम नागालाई कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको थियो । उनकी आफ्नै दिदी सानुमायाले भाइ नागालाई कलेजो दान गरेपछि केन्द्रले निःशुल्क प्रत्यारोपण गरेको थियो । शिक्षण अस्पताल र अरु निजी अस्पतालले पनि कलेजो प्रत्यारोपण सुरु गर्न सरकारको सहयोग मागिरहेको बताउँदै उनले अब मष्तिस्क मृत्यु भएका व्यक्तिबाट सात अङ्ग दान दिन तथा लिन मिल्ने व्यवस्था भइसकेको जानकारी दिए । मन्त्री थापाले केन्द्रको अवलोकन गर्नाका साथै कलेजो प्रत्यारोपण गरेका बिरामीलाई भेटेर उनीहरुको अवस्थाबारे जानकारी लिएका थिए। अहिले दुवै बिरामीको स्वास्थ्यस्थिति सामान्य रहेको केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले जानकारी दिए । डा श्रेष्ठले भारतमा रु एक करोडदेखि रु एक करोड ५० लाखसम्म खर्च लाग्ने कलेजो प्रत्यारोपणका लागि केन्द्रसँग आवश्यक पर्ने सबै पूर्वाधार रहेको बताउँदै अब नेपालमा औषधिसमेत रु १५ लाखमा कलेजो प्रत्यारोपण गर्न सकिने उल्लेख गरे । पेट तथा कलेजो रोग विशेषज्ञ डा दीपेश गुरुवाचार्यका अनुसार नेपालमा हाल एक वर्षमा एक हजार जनाको कलेजो बिग्रिरहेकोे र नेपालबाट भारतमा मात्रै वर्षमा ५० जनाभन्दा बढी मानिस कलेजो प्रत्यारोपण गर्न जाने गरेका छन् । रासस

कलेजो प्रत्यारोपण गगन थापा स्वास्थ्यमन्त्री

विशेष