News

मानवीय सहायता साझेदार सम्भावित विपद्का लागि तयार

मानवीय सहायता साझेदार सम्भावित विपद्का लागि तयार
मंसिर - २३ । प्राकृतिक विपद्का लागि आकस्मिक पूर्वतयारी, प्रतिकार्य र क्षमता अभिवृद्धिसम्बन्धी तीनदिने आकस्मिक पूर्वअभ्यास सम्पन्न भएको छ । अभ्यासको आयोजना गृह मन्त्रालयसँगको सहकार्यमा राष्ट्रसङ्घीय विश्वखाद्य कार्यक्रम (डब्लुएफपी)ले गरेको हो । विपद् व्यवस्थापनमा सरोकार भएकाहरुको क्षमता अभिवृद्धि गर्ने र पूर्वतयारी तथा प्रतिकार्यलाई पूर्वचेतावनी प्रणालीसँग अझ प्रभावकारी रुपमा जोड्ने उद्देश्यले आयोजित पूर्वाभ्यासमा सरकार, राष्ट्रसङ्घीय निकाय, गैरसरकारी संस्था र निजी क्षेत्रका प्रतिनिधिको सहभागिता थियो । सो अभ्यास अस्ट्रेलियन एड, अस्टे«याली सरकार–वैदेशिक मामिला तथा व्यापार विभाग र जर्मन सङ्घीय वैदेशिक कार्यालयको आर्थिक सहयोगमा सञ्चालित परियोजनाअन्तर्गत भएको हो । अभ्यासको आयोजना डब्लुएफपीले डिएफआइडीको सहयोगमा विपद्को अवस्थामा मानवीय प्रतिकार्यको बन्दोबस्ती व्यवस्थापन सहजीकरणका लागि विसं २०७२ को भूकम्पको केहीअघि मात्र शुभारम्भ गरिएको काठमाडौँस्थित मानवीय सहायतास्थलमा भएको थियो । समापन समारोहलाई सम्बोधन गर्दै गृह मन्त्रालय, विपद् व्यवस्थापन विभागका प्रमुख कृष्णबहादुर राउतले विपद्जन्य जोखिमको न्यूनीकरण र व्यवस्थापनमा डब्लुएफपीले सरकारी र अन्य मानवीय सहायताकर्मी संस्थालाई आकस्मिक तालिम प्रदान गरी आकस्मिक पूर्वतयारी र प्रतिकार्यमा राष्ट्रिय क्षमताको विकास गर्न नेपाल सरकारलाई सहयोग गर्दै आएको बताए। डब्लुएफपी नेपालका उपराष्ट्रिय निर्देशक फ्रान्सेस्का कापोनेराले नेपाल विश्वका विपद्बाट सबैभन्दा प्रभावित देशमध्ये मृत्युदर र घटनाको सङ्ख्या दुवै हिसाबले पहिलो दशमध्येमा पर्नेमा बताउँदै नेपालमा जाने प्रायः स्थानीयस्तरका र लगातार भइरहने विपद्ले दिगो विकासलाई प्रभावित गर्न सक्ने बताए । नेपाल रेडक्रस सोसाइटी बाँकेका दोलख डाँगीले आकस्मिक पूर्वाभ्यासले सम्बन्धित विपद् व्यवस्थापन सरोकार भएकाहरुलाई आफ्नो संस्थाको पूर्वतयारीपनको स्तरलाई समीक्षा गर्ने, प्रतिकार्यको अभ्यास गर्ने, निर्णय प्रक्रिया, प्रोटोकल र विधिको अभ्यास गर्ने अवसर प्रदान गरेको र आकस्मिक घटनाका बेला समयमै सम्बोधन गर्ने उनीहरुको क्षमता बढाउन मद्दत गरेको बताए । कार्यक्रमका सहभागी विभिन्न क्रियाकलाप र बन्दोबस्ती अभ्यासमा सहभागी भए जसमा मध्य तथा सुदूरपश्चिम तराईका जिल्ला प्रभावित भएको विसं २०७१ को बाढीको वास्तविक परिदृश्यमा आधारित सत्र पनि थियो । अभ्यासमा राष्ट्रिय र जिल्लास्तरका सरोकार भएकाहरुबीच निर्णय लिने र समन्वयको सीप विकास गर्नाका साथै घुम्ती भण्डारण एकाइ र दूरसञ्चार उपकरणको स्थापनाजस्ता व्यावहारिक बन्दोबस्ती सीपको पनि अभ्यास गरिएको थियो । रासस

गृह मन्त्रालय

विशेष