खेल ताजा खबर News

एन्फाका यस्तो लापरबाही, थ्रीस्टारले एएफसी कप खेल्न नपाँउने

एन्फाका यस्तो लापरबाही, थ्रीस्टारले एएफसी कप खेल्न नपाँउने

मंसिर २४ । अखिल नेपाल फुटबल संघ (एन्फा)को लापरबाहीका कारण नेपाली फुटबलको शीर्ष क्लब थ्री स्टारले एएफसी कपको दोस्रो राउन्ड खेल्न बञ्चित हुने भएको छ ।

थ्री–स्टार गत अगष्टमा छनोट प्लेअफमा चार अंकसहित समूह ‘बी’ को विजेता बन्दै एएफसी कपको दोस्रो चरणमा छानिएको थियो । थ्री स्टारको भन्दा १ अंक कम भएको आयोजक मंगोलियाली इर्चिम दोस्रो चरणमा छानिए पनि थ्री स्टारको नाम एएफसीले बुधबार सार्वजनिक गरेको दोस्रो चरणमा सहभागी मुलुकको सूचीमा परेन । एएफसीले डिसेम्बर १३ मा खेल तालिका तय गर्ने भएको छ । एफएसीको वेबसाइटमा प्रकाशित सूचीअनुसार नेपालको ठाउँमा मंगोलिया परेको छ ।

प्रतियोगिताको दोस्रो चरण जनवरी २४ देखि फेब्रुअरी ७ सम्म हुने छ । अन्तिम चरण भने फेब्रुअरी २० देखि हुने छ । जसको खेल स्थलबारे अझै निर्णय भइसकेको छैन ।

एएफसीले प्रतियोगिताका लागि टिम दर्ता गर्न एन्फालाई बारम्बार स्मरण गराएको थियो । तर तीन पटकको लिखित पत्राचारको जवाफ नदिएपछि एएफसीले डिसेम्बर ६ मा थ्री स्टार क्लबलाई प्रतियोगिता सामेल गर्न नसकिने भन्दै एन्फालाई जानकारी पठाएको थियो ।

मंगोलिया जानु एक महिनाअघिदेखि टिमलाई तयारीमा जुटाएको थ्री–स्टारमाथि यो अनपेक्षित अवस्थाका कारण ठूलो आर्थिक भार परेको छ ।

Anfa Three Star

विशेष