विदेश

१८ मिनेट मात्र अलमलिएको भए मेस्सीसहित अर्जेन्टिनाका राष्ट्रिय खेलाडी मारिने

१८ मिनेट मात्र अलमलिएको भए मेस्सीसहित अर्जेन्टिनाका राष्ट्रिय खेलाडी मारिने

मंसिर–२४ । कोलम्बियाको एयरपोर्ट पुग्नु अगावै विमान दुर्घटना भएर ब्राजिली क्लब चापाकोइन्सेको घटना २ साता पनि नपुग्दै अर्को सनसनीपूर्ण समाचार सार्वजनिक भएको छ । ब्राजिली अखबार फोल्हाले सार्वजनिक गरेको समाचारअनुसार चापाकोइन्सेका खेलाडी लिएर कोलम्बिया उड्नुअघि बोलिभियाको एलएमआई–२९३३ नम्बरको विमानले एक साता अगाडि अर्जेन्टिनी खेलाडीलाई बोकेर उडेको थियो । विश्व चर्चित स्ट्राइकर लिओनल मेस्सीसहित अर्जेन्टिनाको राष्ट्रिय टोलीका खेलाडी समावेश रहेको विमान पनि यसरी नै दुर्घटनामा पर्न सक्ने सम्भावना रहेको बताइन्छ । उक्त विमान आकाशमा केवल १८ मिनेट मात्र अलमलिएको भए इन्धन सकिएर दुर्घटना भई सबै यात्रुको मृत्यु हुने थियो । तर त्यसो हुन पाएन । फोल्हा अखबारले अर्जेन्टिनी फुटबल खेलाडी विश्वकप छनोटका लागि ब्राजिलमा खेल्न आउँदा एयर ट्राफिक मोनिटरको अध्ययन गरेको थियो । जस्मा विमान कम्पनीले अत्याधिक जोखिम मोलेर अर्जेन्टिनी टोलीलाई ब्राजिल पुर्याएको खुलासा भएको छ । अखबारको अनुसार विमानको तेलको क्षमता ४ घण्टा २२ मिनेटको थियो भने अर्जेन्टिनी राष्ट्रिय टोलीको यात्रा अर्जेन्टिनाबाट ब्राजिलसम्म ४ घण्टा ४ मिनेट अवधिको थियो । फुटबल खेलाडीसहित ७१ यात्रुको निधन भएको घटना पनि विमानको लापरवाही काकारण भएको प्रारम्भिक रिपोर्टले जनाइ सकेको छ । उक्त विमानलाई रनवे खाली नभएको कारण केही समय आकाशमै बस्न निर्देशन दिइएको थियो । कम इन्धन क्षमताका कारण आकाशमै विमानलाई केही समय राख्नु पर्दा तेल रित्तिएको र विमान दुर्घटना भएको बताइएको छ ।

LMI2933 अर्जेन्टिनाको राष्ट्रिय टोली ब्राजिली लिओनल मेस्सी

विशेष