News

सार्वजनिक सञ्चार नीतिबारे परामर्श

सार्वजनिक सञ्चार नीतिबारे परामर्श
मंसिर–२४ । एसियाली विकास बैंक (एडिबी) ले पाँचवर्ष पुरानो आफ्नो सार्वजनिक सञ्चार नीति परिमार्जन एवम् अद्यावधिक गर्न सरोकारवालासँग परामर्श थालेको छ । नागरिक समाज एवम् संस्था, सरकार, निजी क्षेत्र, बौद्धिक वर्ग, सञ्चार माध्यम र दातृ निकायसँग बैंकले संयुक्त रुपमा परामर्श थालेको हो । बङ्गलादेशमा आफ्नो सार्वजनिक सञ्चार नीतिको पुनरावलोकनबारे परामर्श गरेर यहाँ आउनुभएको मनिलास्थित बैंकको प्रधानकार्यालयको सञ्चार विभागका अधिकारीले आज राजधानीमा त्यस्तो परामर्श गरेको हो । परामर्श बैठकको शुभारम्भ गर्दै एडिबीका देशीय निर्देशक केनिची योकोयामाले बैंक खुलापन र पारदर्शीतामा प्रतिबद्ध छ भन्दै सूचनामा पहुँच माग्ने सर्वसाधारणको अधिकारको बैंकले सदा सम्मान गर्दै आएको बताए । “खुलापन, पारदर्शीता र संस्थागत सुशासन एडिबीका आयोजना सञ्चालनमा महत्वपूर्ण पक्ष छन्” उनले भने – सूचना तथा विचार सरोकारवाला र सर्वसाधारणलाई सहजरुपमा उपलब्ध गराउने बैंकको नीति छ । बैंकका सञ्चार विभाग प्रमुख शतिन्दर विन्द्राले एडिबीको बदलिँदो परिवेशमा सार्वजनिक सञ्चार नीति पुनरावलोकन अपरिहार्य भएकाले यो परामर्श बैठकको आयोजना गरिएको बताएका छन् । उनले यस्तो अर्को बैठक ताजकिस्तानमा गरिने र यही डिसेम्बर ३० सम्म एडिबीका सदस्य देशबाट यसबारे सुझाव सङ्कलन गरिने जानकारी दिए । रासस

एसियाली विकास बैंक परामर्श

विशेष