विदेश

राष्ट्रपति माथिको महाअभियोग पछिको दक्षिण कोरिया

राष्ट्रपति माथिको महाअभियोग पछिको दक्षिण कोरिया
- रमेश लम्साल मंसिर - २५ । करिब दुई महिना लामो शक्ति संघर्षपछि अन्ततः दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हाइ निलम्बनमा परेकी छिन्। आफ्नै दलका सांसदले समेत साथ नदिएपछि पदावधि रहँदै निलम्बनमा पर्ने उनी सम्भवतः दक्षिण कोरियाको इतिहासमा पहिलो महिला राष्ट्रपति हुन् । सामान्यतया शान्त र राजनीतिक उतार चढाव भन्दा टाढा रहने भनेर मानिएको दक्षिण कोरिया पछिल्लो दुई महिनादेखि अशान्त थियो । बिगत दुई महिनादेखि राजधानी सोलको चोकहरु लाखौ प्रदर्शनकारीले भरिएका देखिन्थे । सबैको एउटै नारा हुन्थ्यो “भ्रष्टाचारमा संलग्न राष्ट्रपति राजीनामा देऊ” । राजीनामा दिएर पदबाट हट्ने आम जनताको अडकल विपरित शुक्रबार संसदमा भएको मतदानमा राष्ट्रपतिलाई महाअभियोग लगाउने पक्षमा २३४ सांसदले मत जाहेर गरेका थिए । कुल ३०० सदस्यीय संसदमा राष्ट्रपतिकै साएनुरी पार्टीका १२८ जना सांसदहरु मध्ये ५६ ले समेत महाअभियोगको पक्षमा मतदान गरेका थिए । पार्टीको वाध्यात्मक आदेश (ह्विप) विपरित गएर महाअभियोगको पक्षमा मतदान गरेको पनि पहिलो पटक हो दक्षिण कोरियामा । राष्ट्रपति पार्क आफ्नो वफादार मानिएकी चोई सुन सिलसँगको सम्बन्धका कारण विवादमा फस्नु भएको हो । राज्ययन्त्र र आफूमा निहित राष्ट्रपतीय शक्तिको दुरुपयोग गरेर भ्रष्टाचार गरेका काण्डहरु सार्वजनिक भएपछि उठेको भूइँचालोले अन्ततः अमेरिकी फोब्र्स पत्रिकाले दक्षिण एसियाकै ११ औं श्रेणीकी शक्तिशाली महिला मानेको पार्क आफ्नो पदबाट हात धुनुपर्ने अवस्थामा आइपुगेकी छिन् । मान्छेहरुलाई लाग्दैनथ्यो राजनीतिको परिणाम यति निर्मम हुन्छ भन्ने तर निर्मम नमानिएको दक्षिण कोरियाली राजनीतिक माहोल आखिर तातिएरै छाड्यो । अवैध तरिकाले वित्तिय लाभ लिने परिपाटी दक्षिण एसियाको राजनीतिमा सामान्य जस्तै छ । प्रजातन्त्रको नाममा हुने आर्थिक र राजनीतिक भ्रष्टाचार र वित्तिय लाभ दक्षिण कोरियाका लागि अपाच्य थियो र छ भन्ने कुरालाई पार्क महाअभियोगसँग जोडेर हेरिएको छ । संसदले पारित गरेको महाअभियोगको प्रस्ताव संवैधानिक अदालतले निरुपण गर्नेछ । सो कार्य पूरा हुन अब १८० दिन लाग्नेछ । संवैधानिक अदालतले संसद्को निर्णयलाई अनुमोदन गरेको खण्डमा त्यसको ६० दिनभित्र राष्ट्रपति स्वतः पदमुक्त हुनुपर्नेछ । चोई सुन सिलको स्वामीत्व र नियन्त्रणमा रहेको एक कम्पनीलाई वित्तिय स्रोत जुटाउन राज्यका ठूला उद्योग तथा व्यावसायीलाई अनिच्छित लगानी गर्न अनावश्यक दबाव दिएको आरोप पार्कमाथि छ । यद्यपि महाअभियोग पारित हुने समयसम्म पनि राष्ट्रपति पार्क सो आरोप स्वीकार गर्न तयार थिइनन्। “म उपर राजनीतिक प्रतिशोध साधियो” निलिम्बत राष्ट्रपति पार्कको संक्षिप्त प्रतिक्रिया थियो । महाअभियोग उपर मतदान हुने मितिको धेरै पहिले देखि नै आफूमाथि लागेको आरोपको सफाइ दिन राष्ट्रपतिले संसदमा र टेलिभिजन मार्फत् बारम्बार सम्बोधन पनि गरेकी थिइन् । तर विपक्षी दलहरुले पार्कको सम्बोधनलाई सत्य, तथ्य ओझेलमा पार्ने चालबाजीको रुपमा लिँदै सडक संघर्षमा जोड दिए भने संसदमा सिएनुरी पार्टीका सांसदहरु चोर्ने अभियान नै चलाए । विपक्षीको योजना सफल भएको छ । महाअभियोग उपर मतदान हुनु एकदिन अघि विपक्षीहरु चहिनेभन्दा यतिसम्म बढी विश्वस्त (ओभर कन्फिडेन्ट) भए कि, महाअभियोग प्रस्ताव पारित नभएमा सबैजना सांसद्हरुले अनिवार्य संयुक्त राजीनामा गर्नै पर्ने गरी संसदको सबैभन्दा ठूलो प्रतिपक्षी दलका प्रमुखले वाध्यात्मक आदेश (ह्विप) नै जारी गरे । त्यस्तै, अर्को बिपक्षीदलले पनि एकमूष्ट संयुक्त राजिनामा गर्ने विषयमा हस्ताक्षर सङ्कलन अभियान नै चलाए । हाई निलम्बनमा पर्नु भएपछि राष्ट्रपतीय पद भार र जिम्मेवारी सङ्क्रमणकाल भरी वर्तमान प्रधानमन्त्री ह्वान कियो आङ्ले समाल्ने भएकी छन् । तर भ्रष्टाचारको विषयमा उठेको आन्दोलनलाई मत्थर पार्ने र चोन सुईको विषयमा उठेको विवादलाई निरुपण गर्ने उपाय के हुन सक्छ भन्ने बारेमा भने हालसम्म कुनै जानकारी दिइएको छैन । महाअभियोग प्रस्तावबाट अपदस्थ दक्षिण कोरियाली राष्ट्रपति पार्क दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति हुनुहुन्थ्यो । सन् १९५२ फेब्रुअरी २ मा जन्मनुभएको उहाँले ११ औं राष्ट्रपतिको रुपमा सन् २०१२ मा आफ्नो कार्यभार सम्हाल्नु भएको थियो । कन्जरभेटिभ पार्टी ग्रान्ड नेशनल पार्टीको सन् २००४ देखि २००६ र २०११ देखि २०१२ सम्म पनि अध्यक्ष हुनुहुन्थ्यो । सन् २०१२ मा सो पार्टीको नाम परिवर्तन भएर साएनुरी भएको थियो । पार्कको आमाको एक विवादास्पद हत्यापछि राजनीतिमा प्रवेश गर्नुभएको थियो । तथ्य पुटि नभएको तर उत्तर कोरियाको आदेशमा उनको आमाको हत्या भएको बताइन्छ । पार्कका पिता पार्क चुङ ही सन् १९६३ देखि १९७९ सम्म दक्षिण कोरियाको राष्ट्रपति भएका थिए । राष्ट्रपतिको कार्यकालको अन्तिम समयतिर गुप्तचर एजेन्टले उनको हत्या गरेको थियो । सन् १९९८ देखि २०१२ सम्म प्रत्यक्ष निर्वाचित प्रतिनिधिका रुपमा लगातार चार कार्यकाल संसदको प्रनिधित्व गर्ने पार्क कोरियन राष्ट्रिय प्रतिनिधि परिषद्को सदस्यसमेत हुन् । राष्ट्रपतिकै दलले नचाहदा नचाहँदै पारित भएको प्रस्तावले राजनीतिक द्वन्द्वतिर मुलुकलाई जैजान सक्ने आशयका समाचारहरु पनि सार्वजनिक भएका छन् । प्रधानमन्त्री समेत रहनु भएका हुवान कियाले नागरिकलाई संयमताका साथ रहन आग्रह गर्ने अनुमान गरिएको छ । दक्षिण कोरियाको इतिहास हेर्ने हो भने राष्ट्रपतिको पारिवारिक सदस्यको स्वामित्वमा रहेका सामसुङ, लोटी,एसकेललगायतका कम्पनी र सरकारी कार्यालयमा दिनहुँजसो प्रहरीले छापा मार्छ । तर अनुमानको भरमा राष्ट्रप्रमुखको मान मर्दन गरिएको भन्दै पार्कका वकिलले बचाउको हरसम्भव प्रयास गरेका थिए । अपेक्षित रुपमा शान्त मानिएपछि राजनीति र भ्रष्टाचार दक्षिण कोरियाको प्रमुख विशेषताको रुपमा स्थापित भएको पुसान विश्वविद्यालयका प्राध्यापक रोवर्ट केलीको भनाइ छ । भ्रष्टाचार प्रणालीको रुपमा विकास भएको छ, जुन आम मान्छेको सोच भन्दा बाहिरको विषय हो । दक्षिण कोरियामा चेइबोल्स लामो समयदेखि प्रचलित छ । राजनीतिज्ञ, व्यापारी तथा एलिटहरुको स्वामित्वमा विभिन्न कम्पनीको समूह छ । जसलाई दक्षिण कोरियामा चेइबोल्स भनिन्छ । त्यस्ता कम्पनीमा शक्तिका नजिक रहेका मान्छेहरु नै आवद्ध हुन्छन् । कम्पनी चलाउने मुख्य व्यीक्तको नेतासँग विशेष सम्बन्ध हुन्छ । भ्रष्टाचारको पर्दाफास नै भइहाल्यो भने पनि त्यस्ता समूहको प्रमुख जेल जान्छन् तर नाटक के गरिन्छ भने जेल परेका भ्रष्टाचार आरोपी राष्ट्रपतिले आम माफी दिएर रिहाइ गरिन्छ । चेइबोल्सले समृद्ध दक्षिण कोरिया बनाउन सहयोग पनि गरेको छ । पार्कका पीता जसलाई तानाशाह नै भनिन्छ । उहाँले चेइबोल्स प्रमुखलाई उद्योग स्थापना गर्न निर्देशन दिएर कोरियाको आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्नुभएको थियो । हरेक दश कोरियाली नागरिक मध्ये आठ जनाले पार्कलाई महाअभियोग लाउनुपर्ने प्रस्तावको पक्ष र चेइबोल्सको धरापमा परेको भन्ने बौद्धिक वर्गको धारणालाई आधार मान्ने हो भने दक्षिण कोरियाको राष्ट्रपति भवन आज मात्रै होइन , विगतदेखि नै भ्रष्टाचारको कालो बादल मडारिएको थियो भनेर ठोकुवा नै गर्न सकिन्छ । स्न १९९८ देखि २००३ सम्म राष्ट्रपतिमा रहनु भएका किम दायई जुङ आफू सदाचारी थिए तर भ्रष्टाचारको पिरो गन्ध पारिवारिक रुमपा नै फैलिएको थियो । राज्य संयन्त्र प्रयोग गरेर वित्तिय अपराध गरेको आरोपमा किमका दुई छोरालाई जेल हालिएको थियो । सन् २००३ देखि २००८ सम्मका राष्ट्रपति रोह मु हायुनले कार्यकाल समाप्त हुने वित्तिकै आत्महत्या गरेका थिए । आत्महत्यापछिको कारणका रुपमा भ्रष्टाचारलाई नै लिइएको छ । कुल ६० लाख डलर भ्रष्टाचार गरेको पत्ता लागेपछि आत्महत्या गरेको भन्दै हायुनको आलोचना गरिन्छ । सन् २००८ देखि सन् २०१३ सम्मका राष्ट्रपति ली माइयुङ पनि भ्रष्टाचारमा मुछिएको बताइन्छ । सरकारलाई प्रभाव पार्न आफ्ना सहदोर दाजु मार्फत एक व्यापारीसँग पाँच लाख डलर घुस लिएको आरोप लागेको थियो । ठूला कम्पनीले राजनीतिमा पार्ने प्रभाव र राजनीतिज्ञ त्यसमा बहकिने अवस्था नै दक्षिण कोरियाको राजनीतिको अर्को विडम्बना पूर्ण अवस्था हो । केही स्वार्थ समूहले राज्ययन्त्रमाथि पार्ने प्रभावले समग्र मुलुकको राजनीतिक प्रणालीमाथि नै व्यङ्ग्य गर्ने गरेको पुसान विश्वविद्यालयका प्राध्यापक केलीको भनाइ छ । राजनीतिक प्रणालीमा पनि सुधारको माग गरिएको छ । पार्क महाअभियोगको अन्तर्यमा प्रणाली सुधारको विषय पनि जोडिएको छ । तर त्यो विषय क्रमशः फिका बन्दै जाने छ र केही एलिटहरुले पुनः राज्ययन्त्र कब्जा गर्नेछन् । राष्ट्रपति विरुद्ध सन् १९८० पछाडिकै सबैभन्दा ठूलो प्रदर्शन हुनु, प्रदर्शनकारी सत्यको खोजी भन्दै मैनबत्ती बालेर प्रदर्शनमा उत्रनुले दक्षिण कोरिया परिवर्तनको संघारमा छ भन्ने पनि बुझ्न सकिन्छ । तर राष्ट्रपति भवन ब्लु हाउसबाहिर प्रदर्शनमा रहेका कोरियारी मजदुर संगठनका प्रवक्ता जियोङ सु भने लाखौको सहभागिता सहितको प्रदर्शनलाई विधिको शासनको रक्षा गर्नु रहेको बताउँछन् । चोई काण्डबारे दुई पटक क्षमा याचना माग्दा पनि नागरिकले प्रदर्शन गर्न नछाडेपछि पार्कले भनेकी थिइन् दुषित विचारका कारण म रातभर सुत्न सक्दिन, चोईको तर्फबाट भएका लापरवाहीप्रति मलाई लाज लागेको छ । राष्ट्रपतिको थप भनाइ थियो गल्ती गर्ने जो कोहीलाई कडा सजाय दिनेछ । तर महाअभियोगको सजाय आफैँमाथि ब्रजिएको छ , जुन पहिलो महिला राष्ट्रपतिको रुपमा पदभार ग्रहण गर्दा जुन उत्साह र लगाव थियो आज सबै निमिट्यान्न भएको छ । आफूले शक्तिको दुरुपयोग गरेको नभई चोइको गतिविधिलाई मसिनो गरी नहेर्दा समस्यामा परेको राष्ट्रपति पार्कको स्वीकारोक्ती थियो । तर राष्ट्रपतिको उक्त अनुनय विनयलाई संसदले सुनेन, आफ्नै दलका सांसदले समेत सुनेनन । जसका कारण महाअभियोग लागेर ब्लु हाउसबाट वर्खासतीमा पर्नु नै पार्कको राजनीतिक जीवनको नमिठो पल बनेर आएको छ । जुन कोरियाको लागि समेत कालो इतिहासको रुपमा दर्ज हुनेवाला छ । रासस

दक्षिण कोरिया पार्क गेउन हाइ

विशेष