News

जलविद्युत्मा संयुक्त लगानी गर्न बंगलादेशको प्रस्ताव

जलविद्युत्मा संयुक्त लगानी गर्न बंगलादेशको प्रस्ताव
काठमाडौँ, २५ मङ्सिर । बंगलादेशले नेपालको ऊर्जा क्षेत्रमा संयुक्त लगानी गर्ने प्रस्ताव गरेको छ । पन्ध्र हजार मेगावाट क्षमताको विद्युत् उत्पादन पु¥याएको अवसरमा बंगलादेशको राजधानी ढाकामा आयोजित विशेष समारोहमा सहभागी हुन बंगलादेशको भ्रमण गरेका ऊर्जा मन्त्री जनार्दन शर्मासँगको भेटमा सो प्रस्ताव गरिएको हो । ऊर्जा क्षेत्रमा संयुक्त लगानी गर्ने वा नेपालमा उत्पादित विद्युत्लाई ऊर्जा बिक्री कम्पनीमार्फत खरिद गर्ने वा अन्य कुनै विकल्प अपनाउने भन्ने बारेमा समेत संयुक्त कार्यदल बनाएर छलफल गर्ने प्रस्ताव बंगलादेशले गरेको छ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले ऊर्जा राज्यमन्त्री नसरुल हमिदलाई समेत साथै राखेर ऊर्जा मन्त्री शर्मासँग संयुक्त लगानीका विभिन्न उपायहरु खोज्न र दुवै मुलुक एक आपसमा मिलेर जलविद्युत् आयोजनामा लगानी गर्ने विषयमा छलफल गरेका मन्त्री शर्माले जानकारी दिए । नेपाल र बंगलादेशबीच जलविद्युत्मा लगानी गर्ने विषयमा समझदारी पत्रमा हस्ताक्षर नै गरेर प्रक्रिया सुरु गर्ने तयारी धेरै पहिलेदेखि भए पनि काम भने अगाडि बढ्न सकेको थिएन । प्रधानमन्त्री हसिना र ऊर्जामन्त्री शर्माबीचको भेटवार्तामा उक्त समझदारीपत्रमा हस्ताक्षर गरेर अगाडि बढ्ने विषयमा समेत कुराकानी भएको भेटमा सहभागी ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले जानकारी दिए । “बंगलादेश नेपालबाट विद्युत् खरिद गर्न, संयुक्त लगानी गर्न वा जुनसुकै विधिबाट पनि संयुक्त रुपमा काम गरौँ भन्ने सकारात्मक धारणाका साथ आएको छ, यसले हामीलाई थप उत्साहित बनाएको छ”–ढाकाबाट फर्केपछि रासससँग कुरा गर्दै मन्त्री शर्माले भने, “आगामी एक महिनाभित्रै समझदारीपत्रमा हस्ताक्षर गरेर प्रक्रिया अगाडि बढाउने सोचाइमा मन्त्रालय रहेको छ ।” मन्त्री शर्माले यही मंसिर २२ देखि २४ सम्म बंगलादेशको भ्रमण गरेका थिए । बंगलादेशमा ऊर्जाको माग अत्याधिक रहेको र पछिल्लो सात वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गरेको अनुभवले पनि संयुक्त रुपमा काम गरौँ भन्ने प्रस्ताव गरेको मन्त्री शर्माको भनाइ छ । नेपाल र बंगलादेशबीच सरकार–सरकार (जि टु जी) संयुक्त लगानी गर्ने वा निजी क्षेत्रले लगानी गर्ने वा विद्युत् व्यापार कम्पनीमार्फत विद्युत् खरिद गर्ने भन्ने विषयमा भने पछि नै टुंगो लाग्नेछ । समझदारीपत्रमा हस्ताक्षर गर्न विगत तीन वर्षपहिले नै बंगलादेशले आग्रह गरेपनि प्रक्रिया अगाडि बढ्न सकेको थिएन । लगानीका विभिन्न सम्भावनाका बारेमा द्विपक्षीय छलफल गर्न बंगलादेशी ऊर्जा राज्यमन्त्री हमिदलाई नेपाल भ्रमणको निम्तासमेत दिइएको छ । समझदारीपत्रका बारेमा अर्थ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले समेत स्वीकृति दिएकाले एक साताभित्रै बंगलादेश पठाउने तयारी गरिएको छ । प्रसारण लाइनका विषयमा नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय बैठकको आयोजना गरेर सहमति खोज्न सकिनेमा समेत दुई मुलक (नेपाल र बंगलादेश) सहमत भएका छन् । “कुटनीतिक वा संयुक्त संयन्त्रमार्फत छलफल गर्न सकिन्छ, इच्छा भए सबै विषयमा सहमति कायम गरेर काम गर्न सकिन्छ भन्नेमा हामी विश्वस्त छौँ”–ऊर्जा मन्त्री शर्माले भने । दक्षिण एसियाली क्षेत्रीय सहयोग संघठन (सार्क)को १९ औँ शिखर सम्मेलनको क्रममा काठमाडौँमा भएको सहमतिअनुसार पनि ऊर्जा क्षेत्रमा लगानीका अवसर सिर्जना हुन सक्ने देखिन्छ । ‘सार्क इलेक्ट्रिकल फ्रेम एग्रिमेन्ट’अनुसार पनि नेपाल, भारत, बंगलादेशबीच विद्युत् आदानप्रदान तथा संयुक्त व्यापार गर्न सकिन्छ । नेपाल र भारतबीचमा रहेको सचिव र सहसचिवस्तरीय संयन्त्र जस्तै बंगलादेशसँग पनि सोही खालको संयन्त्र बनाउन सकिने प्रस्ताव गरिएको छ । सहसचिव घिमिरेले संयुक्त रुपमा काम गर्ने विषयमा बङ्गलादेशले चासो व्यक्त गरेको र केही समयभित्रै प्रक्रिया सुरु हुने बताए । एकाध वर्षमा बंगलादेशले जलविद्युत् उत्पादनमा गरेको प्रगति नेपालको लागि पनि अनुकरणीय हुन सक्ने भन्दै सहसचिव घिमिरे आगामी एक महिनाभित्र समझदारीपत्रमा हस्ताक्षर हुने बताउँछन् ।

hydroelectricity

विशेष