ध्यान नदिँदा लोप हुने भयो भेडा व्यावसाय
मंसिर २६ । आयआर्जनको राम्रो माध्यम बन्दै आएको भेडापालन व्यवसायमा किसानको उचित ध्यान नपुग्दा जिल्लाबाटै लोप हुने भएको छ ।
त्यहाँका किसानले भेडाका लागि खोर व्यवस्थापन, आहारा, चरन, उपचार र सरसफाइमा ध्यान नदिँदा यो व्यवसाय लोप हुन लागेको हो ।
जिल्लाको कसेनी, रुप्से, चिदीपानी, हुमिन गाविसको तल्लो क्षेत्र र रामपुर नगरपालिकाको बेझाडस्थित दरैगाउँमा व्यावसायिक रुपमा भेडा पालिन्थ्यो ।
पहिला त्यहाँ गाई, गोरु, बाख्राका तुलनामा भेडाको संख्या धेरै हुन्थ्यो तर अहिले भेडा नै लोप हुन लागिसकेका छन् ।
कसेनीका बुद्धिबहादुर कुमालले एक बखत आफूले झण्डै ५० वटा भेडा चराउने गरेको तर अहिले एउटा भेडा पनि देख्न पनि मुस्किल परेको बताए ।
युवा पुस्ताले पुरानो व्यवसाय नअपनाउने, व्यवस्थापन पक्ष कमजोर र वैदेशिक रोजगारतर्फ आकर्षण बढेकाले यो व्यवसाय हराउँदै गएको उनी बताउँछन् ।
हिन्दूको धार्मिक संस्कारमा पञ्चवली चढाउँदा भेडा अनिवार्य मानिन्छ । बोकाको तुलनामा भेडाको भाले (थुमे) को मूल्य दोब्बर पर्ने भएकाले गाउँमा केही व्यक्तिले मात्र न्यूनरुपमा मात्र भेडा पालेका छन् ।
भेडा बिरामी हुँदा उपचारमा ध्यान नदिने गरेका कारण पनि यो व्यवसाय लोप हुँदै गएको स्थानीय बासिन्दा तिलकराम घिमिरेको भनाइ छ ।
मदनपोखरास्थित पशुसेवा केन्द्रका प्राविधिक शेरबहादुर राना पनि कुनै समस्या हुँदा प्राविधिकको सल्लाह लिने, परीक्षण गर्नेजस्ता कार्यमा चासो नदिएकाले भेडापालन व्यवसाय लोप हुँदै गएको बताउँछन् ।
आधुनिक खोर निर्माण गरेर व्यावसायिक रुपमा भेडा पाल्नसके आम्दानीको राम्रो माध्यम हुने सम्बद्ध क्षेत्रका प्राविधिकको भनाइ छ ।
sheep