अपराध सुरक्षा News

१० प्रतिशत निःशुल्क गर्न अस्पताललाई स्वास्थ्य मन्त्रालयको परिपत्र

१० प्रतिशत निःशुल्क गर्न अस्पताललाई स्वास्थ्य मन्त्रालयको परिपत्र

मंसिर – २७ । स्वास्थ्य मन्त्रालयले १० प्रतिशत सेवा निःशुल्क गराउन निर्देशनसहित देशभरका अस्पतालहरुलाई पत्राचार गरेको छ । स्वास्थ्य मन्त्रालयले गत कात्तिक १३ गतेगरेको व्यवस्था कार्यान्वयन नभएपछि पुनः निर्देशनात्मक आदेशसहित परिपत्र गरिएको हो । सोमबार बसेको बैठकले सबै स्वास्थ्य संस्थाहरुले कुल शैयाको १० प्रतिशत शैया विपन्न, गरिब, असहाय, अपांग, बेवारिसे भएका व्यक्ति लगायतकाका लागि छुट्याउनु पर्ने, साथै त्यसको अभिलेख राख्नु पर्ने र सो को प्रतिवेदन नियमित रुपमा बुझाउन सरकारले निर्देशनात्मक आदेशसहितको परिपत्र जारी गरेको हो । गत कात्तिक १३ गते मन्त्रालयले १० प्रतिशत छुट दिन निर्देशनसहित सार्वजनिक सूचना निकालेको थियो । सोको कार्यान्वयन नभएपछि सोमबारको बैठकले पुन निर्देशनात्मक आदेश दिएको हो । पुस १ गतेदेखि अनिवार्य कार्यान्वयन गराउन देशभरका सबै अस्पताललाई पत्राचार गरिएको स्वास्थ्यमन्त्री गगनकुमार थापाको भनाइ छ । मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री थापाले सेवाग्राहीले निःशुल्क सेवा नपाएको गुनासो आएकाले पुनः पत्राचार गरिएको र सेवा पाए–नपाएको अभिलेख पनि चुस्त रुपमा राख्न भनिएको जानकारी दिए । स्वास्थ्यमन्त्री थापाका अनुसार निजी अस्पतालहरुले सेवा शुल्कमा १० प्रतिशत छुट दिए नदिएको जानकारी सम्बन्धित जिल्लाका गाविस, नगरपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला प्रशासन कार्यालयले अनुगमन गर्ने व्यवस्था मिलाइएको छ ।

गगन थापा स्वास्थ्य मन्त्रालय

विशेष