मात्रै एक राजमार्ग बन्दा विकासले कस्तो फड्को मार्छ ? बुझ्न यो पढौं
मंसिर २८ । दैलेख साततलाका रमेश थापाको तरकारी खेती निकै फस्टाएको छ । १ वर्षदेखि उनी पूर्ण रूपमा तरकारी खेतीमा लागेका छन् । आफ्नै गाउँछेउबाट मध्यपहाडी राजमार्ग खोलिएपछि तरकारी बेच्न उनले टाढा जानु नपर्ने भएको छ । यसले पनि उनलाई तरीकारी खेतीमा लाग्न हौस्याएको छ ।
‘टाढा जान पर्दैन, गाउँमै गाडी आइपुग्छ,’ उनले भने, ‘अरु खेती गर्दा वर्ष दिन खानै पुग्दैन थियो, तरकारी खेती गर्न थालेपछि नगद कमाई हुन थालेको छ ।’ उनी अब पूरै खेतमा तरीकारी लगाउने सोचाईमा छन् ।
उनको घर नजिकको सहर राकम कर्णाली हो । राजमार्ग खुलेपछि अब यहाँसम्म पुग्न सजिलो भएको छ । सजिलो बाटो भएपछि आफ्ना उत्पादन बेच्न पनि गाह्रो छैन । मध्यपहाडी राजमार्गमा पर्ने १० नयाँ सहरमध्ये राकम कर्णाली एक हो । ‘राष्ट्रिय गौरवको आयोजना’ घोषणासँगै नयाँ सहरमा व्यापार र अन्य प्रयोजनका लागि बसाई सर्ने क्रम सुरु भएको छ । प्रत्येक दिन राजमार्ग छेउछाउमा पसल थापेर सानातिना व्यवसाय गर्नेको संख्या बढो छ । चिया, तरकारी पसलेले राजमार्ग छेउछाउका मानिसको जीवनस्तर उकासिक थालेको छ । पाँचथरको चियोभन्ज्याङ (नेपाल–भारत सीमा) देखि बैतडीको झुलाघाट (महाकाली नदी) जोड्ने सडक निर्माणसँगै गाउँमा विकास पूर्वाधार आइपुग्ने आशा स्थानीयको छ । पहाडै पहाड हुँदै पूर्व–पश्चिम जोड्ने मध्यपहाडी मार्ग पूर्वको अन्तिम विन्दु पाँचथर च्याङथापुको भारतीय सीमावर्ती चिवा भन्याङसम्म जोडिएको छ । च्याङथापुदेखि पश्चिम झुलाघाट जोड्ने १ हजार ७ सय ५६ किलोमिटरको क्षेत्रमा ट्रयाक जोडिसकेकाले यातायात सञ्चालनमा आएका छन् । त्यसमध्ये नुवाकोटको पाटी भज्याङदेखि बैतडीको झुलाघाटसम्मको १ हजार ९७ किमि पश्चिम खण्डमा पर्छ, भने ६ सय ५९ किलोमिटर पूर्वी खण्डमा पर्छ ।
मध्यपहाडी लोकमार्ग पश्चिम खण्डका प्रमुख सुर्य भाटले यस खण्डको बैतडी, बाग्लुङ र रुकुम खण्डको करिब ३७ किमि सडक कालोपत्रे भइसकेको बताए । उनका अनुसार यस खण्डमा सानाठूला गरि ६० वटा पुलहरू पर्छन् । तीमध्ये २५ वटा पुलको निर्माण कार्य सम्पन्न, ८ वटा निर्माणधीन र अन्यको टेण्डर प्रक्रिया अघि बढेको उनले बताए । ‘यस आर्थिक वर्षमा गोरखा र बाग्गुङको केही खण्ड कालोपत्रे गर्छौं,’ उनले भने । विभागका अनुसार पूर्वी खण्डमा पर्ने तमोर नदीमा १५ करोड रुपैयाँमा पुल निर्माण भइसकेको छ । जोरसालदेखि तमोरसम्मको ११ र गणेशचोकदेखि थप ९ किलोमिटर कालोपत्रे भएको छ । आयोजनाले पाँचथर खण्डमा पर्ने सिवा, मुसेपा, फलामे, सिलसिले, मेवा र ओयामसहित ६ वटा खोलामा २० देखि ४० मिटरसम्म लम्बाइका पुल निर्माण क्रम जारी राखेको छ ।
मध्यपहाडी लोकमार्गमा सरकारले २० वर्षमा प्रत्येक सहरमा १ लाख जनसंख्या अटाउने महत्वाकांक्षी योजनासाथ पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी गल्छी, तनहुँको डुम्रे, बाग्लुङको बुर्तिबाङ, रुकुमको चौरजहरी, दैलेखको राकम, अछामको साँफेबगर र बैतडीको पाटनलाई नयाँ सहर घोषणा गरेको हो ।
घोषणासँगै त्यसक्षेत्र आसपासका जनाताको जीवनस्तरमा परिवर्तन आएको स्थानीयवासीको भनाई छ । नयाँ सहरहरू पहाडी जिल्लाको केन्द्र बन्ने सोचेर जग्गा र घरघडेरी किन्नेहरू बढेका छन् । बैतडी पाटनका स्थानीय हरिमोहन भण्डारीले मध्यपहाडी लोकमार्ग र नयाँ सहर घोषणसँगै जग्गाको भाउ आकासिएको बताए । ‘सहर वरपरका बासिन्दा पनि घडेरी जोडै छन् किनभने ९ र १० गाविसको व्यपारिक केन्द्र पाटन हुन्छ,’ उनले भने, ‘आखिरलाई सुविधाका लागि बसाइ सर्ने हुन् सबै किसिमका भौतिक पूर्वाधार निर्माण भएपछि किन टाढा जान्छन् ?’ नयाँ सहरको तयारीसँगै जग्गाको भाउ आकाशिएको छ ।
ग्रामीण भेगबाट सदरमुकाम र मध्यपहाडी मार्गदेखि टाढाका बासिन्दाले सडक आसपासका बजारमा जग्गा खरिद गर्ने क्रम बढेको हो । सरकारले उच्च प्राथमिकतामा राखेर ०६४र६५ मा काम थालेको मध्यपहाडी योजना ०७५ भित्र पूरा गर्ने लक्ष्य छ । नयाँ सहरका लागि जमिनको उपलब्धता, आर्थिक विकासको सम्भाव्यता, बस्तीको स्थिति, जनसंख्या, यातायात सुगमतालगायतका आधारमा ५ वर्षअघि सरकारले २० वर्षे गुरुयोजना प्रतिवेदन तयार गरी चरणबद्ध रूपमा सहर विकास गर्ने लक्ष्य राखेको हो । आयोजनाका अनुसार अछामको साँफेबगर र रुकुमको चौरजहारीमा केही भौतिक संरचना निर्माण भइसकेका छन् । वसन्तपुर र धादिङको बैरेनीमा पनि निर्माणबारे अध्ययन भइरहेको छ । विस्तृत अध्ययनका लागि करिब ४९ करोड रुपैयाँ छुट्टयाइएको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।
पूर्ण सहर विकासका लागि करिब ५० अर्ब रुपैयाँ लाग्ने भन्दै विस्तृत अध्ययनपछि बजेटको खाका बढ्न सक्नेछ । प्रत्येक सहर विकासका लागि ५ अर्ब रुपैयाँ लाग्ने विभागले अनुमान गरेको छ । सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत नयाँ सहर आयोजनाका उपनिर्देशन चक्रवर्ती कण्ठले नयाँ सहर निर्माणका लागि अझै बजेटको बढ्न सक्ने बताए ।
विस्तृत अध्ययन अझै गर्दैछौं उनले भने, ‘अहिल्यै एकिन अनुमान गर्न सकिदैन, जति भनिएको छ त्यो प्रारम्भिक अनुमानमात्र हो ।’ पहाडी सहरमा शिक्षा, स्वास्थ्य, सञ्चारको विकास भए राजधानी र तराईमा बसाइ सर्ने क्रम केही मात्रामा रोकिने विभागका अधिकारी बताउँछन् ।
ती स्थानमा खानेपानी, सडक, बत्तीलगायत पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिइएको उनले बताए । उपत्यकालगायत मुलुकका ठूला सहरमा मानवीय चाप कम गर्न सरकारले मध्यपहाडी लोकमार्गमा नयाा सहर विकास गर्न लागेको हो । ती ठाउँमा भौतिक पूर्वाधार तयार भएपछि नजिकका क्षेत्रबाट बसाइसराइको क्रम बढ्ने र बसोबासको चाप बढ्ने अनुमान गरिएको छ । –कान्तिपुर दैनिकबाट