खेल ताजा खबर News

थ्रीस्टारले माग्यो दश करोड क्षतिपूर्ति, यस्तो छ एन्फाको लापरबाही

थ्रीस्टारले माग्यो दश करोड क्षतिपूर्ति, यस्तो छ एन्फाको लापरबाही

मंसिर २८ । नेपाली फुटबलमा सर्वाधिक लोकप्रिय क्लब थ्री स्टार क्षतिपूर्तिका रूपमा यो खेलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) सँगै करोडौं रुपैयाँ क्षतिपूर्ति माग्ने पक्षमा पुगेको छ । एसियाको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता एएफसी कप २०१६ को छनोट प्ले–अफ खेल्नबाट वञ्चित भएपछि थ्री स्टार यो संघारमा पुगेको हो ।

पूरा घटनाक्रम यसरी सुरु हुन्छ । राष्ट्रिय लिग विजेताका रूपमा थ्री स्टारले एएफसीकपको प्रारम्भिक छनोट खेलेको थियो । मंगोलियामा भएको त्यस छनोटमा पहिलो भएपछि थ्री स्टारले प्ले अफ खेल्न पाएको थियो । त्यसमा विजयी भएको भए, थ्री स्टार सिधै प्रतियोगितामा मुल ‘ड्र’ मा प्रवेश गर्ने थियो । यस्तो स्थितिमा नेपाली क्लब सामु अर्को वर्षदेखि छनोट नखेलेर सिधै प्रतियोगिता खेल्ने अवसर हुन्थ्यो । अझ सके, नेपालका तर्फबाट दुई क्लबसम्म पनि प्रतिनिधित्व गर्न पाउँथ्यो ।

एसियाली क्लब फुटबलमा नेपालको सहभागिता शून्य भइरहेको स्थितिमा यो आफैमा ठूलो उपलब्धी हुने थियो । मुल प्रतियोगितामा राम्रो खेलेको भए, लाखौं डलर पुरस्कार रकममा जित्ने अवसर पनि थियो । तर एएफसीले थ्री स्टारलाई प्रतियोगिता प्ले अफ खेल्ने टिमको सूचीमै राखेन । यसको एउटै कारण थियो, एन्फाले समयमै थ्री स्टारको नाम नै पठाएन । समय सीमा बढाएर अवसर दिंदा पनि थ्री स्टारको आवश्यक ‘डकुमेन्ट्स’ नै पठाएन ।

एएफसीले इमेलको माध्यमबाट धेरैपल्ट सोधपुछ गर्दा पनि एन्फाले कुनै प्रतिक्रिया पनि दिएन् । एएफसीको नियम नै छ, आफ्ना प्रतियोगिताबारे उसले सिधै क्लबसँग कहिलै पनि सम्बन्ध राख्दैन । जति पनि काम छन, सिधै देशको फुटबल संघ (एफए) सँग गर्ने हो । त्यसैले थ्री स्टारले यस विषयमा लामो समयदेखि एन्फासँग ताकेता पनि गरिरहेका हो । तर पनि एन्फा नराम्रोसँग चुक्यो र अहिलेको गम्भीर स्थिति आएको हो ।

Three Star

विशेष