News

वन अतिक्रमण गरी व्यापारिक केन्द्र निर्माण, सम्बन्धित निकाय माैन

वन अतिक्रमण गरी व्यापारिक केन्द्र निर्माण, सम्बन्धित निकाय माैन
मंसिर - २८ । वन क्षेत्र अतिक्रमण गरेर घर टहरा र व्यापारिक केन्द्र निर्माण गर्ने क्रम ह्वात्तै बढेको छ । भूकम्पपछि घर भत्किएका केहीले आश्रयस्थलको रुपमा टहरा हालेर बसे पनि उनीहरुलाई वन क्षेत्रबाट नहटाएपछि अहिले सयौँको सङ्ख्यामा घर र व्यापारिक केन्द्रका रुपमा होटल बन्न थालेका छन् । नगरकोट नगरपालिकाअन्तर्गत भक्तपुर–नगरकोट सडकको दाँयाबायाँ वन अतिक्रमण गरेर सयाैँ होटल तथा रेस्टुराँ निर्माण गरी व्यापारिक केन्द्र बनाउँदा समेत जिल्ला वन कार्यालय एवम् सम्बन्धित निकायले चासो दिएका छैनन् । यस क्षेत्रमा चार आनादेखि १० रोपनीसम्म क्षेत्रफल अतिक्रमण गरेर बिना दर्ता व्यवसाय सञ्चालन हुँदा कसैले चासो नदिएपछि अतिक्रमण बढ्दै गएको स्थानीयवासी रामकृष्ण कार्की बताउछन् । जथाभावी खुलेका यस्ता पसलले गाउँमा नै समस्या पारेको, साँझ बिहान गाउँमा हिँडडुल गर्न समेत समस्या परेको स्थानीयवासी बताउँछन् । नगरकोटका बासिन्दा र नगरकोट नाल्दुम पर्यटन विकास समितिले पटक ÷पटक अतिक्रमित घर, टहरा हटाउन जिल्ला वन कार्यालय, डिभिजन सडक कार्यालय र जिल्ला प्रशासन कार्यालयमा आग्रह गर्दा पनि चासो दिएका छैनन् । प्रशासन र वन कार्यालयले टहरा हटाउन एक वर्ष अगाडि नै सूचना जारी गर्दासमेत अतिक्रमण बढ्ने क्रम जारी छ । यस्तै अनन्तलिङ्गेश्वर नगरपालिका– १३, गुन्डु क्षेत्रमा पनि वन अतिक्रमण गरेर होटल तथा रेस्टुराँ बनाउने क्रम बढेको छ । गत जेठमा जिल्ला वन कार्यालय, जिल्ला प्रशासन कार्यालय र प्रहरीको रोहरवरमा वन अतिक्रमण गरी निर्माण गरिएका १६ टहरा हटाए पनि अहिले ती स्थानमा पुनः नयाँ टहरा थपिन थालेका छन् । त्यस्तै गुन्डुको रानीकोट क्षेत्रमा ठूला व्यापारीले नै सार्वजनिक जग्गा र वन क्षेत्र अतिक्रमण गरेर ठूला पक्की होटल धमाधम निर्माण गर्दैआएका छन् । गत असारमा शिलान्यास भइसकेको राष्ट्रिय प्राणी उद्यानअन्तर्गतका क्षेत्रमा र पाइलट बाबा आश्रमवरिपरीको सडक एवम् वन क्षेत्रमा अतिक्रमण बढ्दै गएको छ । रासस

वन क्षेत्र अतिक्रमण व्यापारिक केन्द्र

विशेष