मर्केल र अलान्द युक्रेन द्वन्द्वका कारण रसियामाथि लगाइएको नाकाबन्दी थप गर्नुपर्ने अडानमा
मंसिर - २८ । जर्मन चान्सलर एन्जेला मर्केल तथा फ्रान्सका राष्ट्रपति फ्राँस्वा अलान्दले आफूहरु युक्रेनी द्वन्द्वका विषयमा रसियामाथि लगाइँदै आएको आर्थिक नाकाबन्दी थप गर्नुपर्ने पक्षमा रहेको मङ्गलबार बताएका छन् । युरोपेली युनियनका सदस्य राष्ट्रका उच्च नेताहरुको ब्रसेल्समा हुने भेटमा युक्रेन रसिया द्वन्द्वका कारण रसियामाथि लगाइएको नाकाबन्दीबारे छलफल हुनुपूर्व युरोपेली दुई शक्ति राष्ट्रका प्रमुखले सो धारणा व्यक्त गरेका हुन् ।
युक्रेनको शान्ति प्रक्रियामा देखिएका गम्भीर कमजोरीका कारण युक्रेनी युद्धबिराम उल्लङ्घनका घटना लगातार आएका कारण रसियाविरुद्ध नाकाबन्दीको समय थप गर्नु आवश्यक हुने देखिएको छ, मर्केलले अलान्दसँगको संयुक्त पत्रकार सम्मेलनमा भनिन् । सोही अवसरमा फ्रान्सका राष्ट्रपति अलान्दले मिन्स्क शान्ति सम्झौता कार्यान्वयनमा अपर्याप्त प्रगति देखिएको भन्दै मर्केलको रसियामाथि नाकाबन्दी थप गर्नुपर्ने धारणाप्रति अलान्दले पनि सहमति व्यक्त गरे ।
युद्ध अन्त्य गर्ने विषयमा पर्याप्त प्रयास नभएको र यस विषयमा प्रगति नदेखिएको साथै उस्तै अवरोधहरु देखिएका कारण मैले जर्मन चान्सलर मर्केलको धारणाप्रति सहमति जनाउँछु र रसियाविरुद्ध नाकाबन्दी थप गर्ने पक्षमा म रहेको जानकारी गराउन चाहन्छु, फ्रान्सका राष्ट्रपति अलान्दले भने ।
युक्रेनको पूर्वी क्षेत्रमा द्वन्द्वरत युक्रेनी सरकार वा रसिया समर्थक युक्रेनी विद्रोही दुवैतर्फबाट सम्झौतालाई पूर्णतया कार्यान्वयनमा नलगे अझै पनि उक्त क्षेत्रमा सानातिना युद्धका घटना हुने गरेका छन् । सन् २०१४ देखि सुरु भएको उक्त द्वन्द्वका कारण करिब १० हजार मानिसको मृत्यु भएको र यसलाई अन्त्य गर्न मिन्स्क सम्झौता भएको थियो ।
एक जना युरोपियन युनियनका अधिकारीले ब्रसेल्समा जर्मन चान्सलर मर्केल र फ्रान्सका राष्ट्रपति अलान्दले रसियामाथिको नाकाबन्दी थप सिफारिस गर्ने बताएका थिए । नाकाबन्दी थप गर्ने विषयमा सन् २०१७ को जनवरीमा युरोपेली सदस्य राष्ट्रबीच औपचारिक सहमति गरिने भए पनि यस विषयमा सबै मुलुकबीच सहमति देखिएको छ । एएफपी
एन्जेला मर्केल