अधिकांश ग्रामीण सडक मापदण्ड विपरीत
मंसिर २९ । डडेल्धुरा जिल्ला सदरमुकामबाट ग्रामीण क्षेत्रमा जाने अधिकांश सडक मापदण्डविपरीत रहेका छन् ।
सडकहरु निर्माण भई यातायत सुचारु अवस्थामा रहेको भए तापनि जिल्ला प्राविधिक कार्यालयलाई भने ती सडकका बारेमा कुनै जानकारी समेत नरहेको जनाइएको छ ।
जिल्लामा रहेका केही ग्रामीण सडकमा यातायात सञ्चालन गर्नका लागि जोखिमपूर्ण भए पनि यातायात व्यवसायीदेखि अन्य सरोकारवाला निकायले भने कुनै चासो देखाएको छैन ।
जिल्लाको डुङ्री–देवल, रडुवा– वडम–मणिलेक सडक, शिराड–रुपाललगायतका करिब आधा दर्जन ग्रामीण सडकमा यातायात सञ्चालन गर्न जोखिमपूर्ण रहेका छन् ।
यातायात सञ्चालनका लागि मापदण्ड नभएका सडक रहेका छन् । त्यसैमा ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका यातायातका सवारी साधन क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको पाइन्छ ।
ग्रामीण सडक निर्माणका क्रममा प्राविधिकको नापनक्सा नभई उपभोक्ता समितिका पदाधिकारीसहित डोजर चालकको भरमा सडक निर्माण हुने गरेका छन् ।
यातायात सञ्चालनका लागि निर्माण गरिने मापदण्ड बिनाका सडक निर्माण भएका कारण जुनसुकै बेला पनि ठूलो दुर्घटना हुनसक्ने प्राविधिक कार्यालयका इन्जिनियर दीपक ओझाले बताए ।
जिल्लामा निर्माण भइरहेका अधिकांश ग्रामीण सडक निर्माण गर्दा जिल्ला प्राविधिक कार्यालय डडेल्धुरालाई जानकारी नै नहुने गरेको जिल्ला प्राविधिक कार्यालयका प्रमुख रामकुमार श्रेष्ठले बताए ।
gramin sadak