कभर स्टोरी News

जागिर माग्न जाँदा, ‘मन्त्रीको छोरालाई ड्राइभरको जागिर दिन्न भन्छन्’

जागिर माग्न जाँदा, ‘मन्त्रीको छोरालाई ड्राइभरको जागिर दिन्न भन्छन्’


मेरो जीवनको लामो समय नागरिकता प्राप्तिको संघर्षमा खर्च भयो । म नेपालको एक नेता, पूर्वमन्त्री कृपासुर शेर्पाका छोरा भएर पनि मैले पहिचानविहीन जीवन बाँच्नु पर्यो । बीना बाबुको छोरा भएर सामाजिक अपहेलना खेप्नु पर्यो । आमाले पनि ‘कुमारी आमा’ भनेर सामाजिक तिरष्कार खेप्नु भयो ।

जुन बेला कृपाशुरले मेरा आमा र मलाई आफ्नो सन्तान हो भन्नुभयो, त्यो बेला आमा ओछ्यानमा थला पर्नु भएको थियो । आमाले पहिचान पाएको कुराको थाहा पाउनु पनि भयो भएन थाहा छैन । किनभने त्यो बेला आमाको होस कम थियो । अहिले त आमा बित्नु भएको पनि आठ महिना भयो ।

कृपासुर शेर्पा पर्यटनमन्त्री हुँदा मैले आफ्नो पहिचान नपाएको भनेर बोलेँ । मिडियाले पनि म अन्यायमा परेको विषयलाई महत्व दियो । ठूलो खैलाबैला भयो । म र मेरी आमामाथिको अत्याचारको पर्दाफास भएपछि कृपासुरलाई पनि ठूलो दबाब पर्यो ।

यो विषय नेकपा एमालेको पार्टी कार्यालयसम्म पुग्यो । कृपासुरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीज्यूकै अगाडि मलाई नागरिकता बनाइदिने, अंश दिने सहमति गर्नुभयो । त्यो घटनापछि मैले नागरिकता प्राप्त गरे । अंश भने पाएको छैन । किनभने पैतृक सम्पत्तिमा छोराछोरीको हक नै हुन्छ । मेरो भने अहिलेसम्म कुनै हक अधिकार लागेको छैन ।

अहिले मैजुवहालस्थित कृपासुरको घरमा फोन गर्दा कान्छीआमाले हप्काउँछीन् । मेरी आमाको निधन भएपछि उनले त ‘अब यसको कोही छैन, मै आमा हो’ भन्नु पर्ने हो । तर त्यस्तो कहाँ हुँदो रहेछ र । कृपासुरको कान्छीपट्टीका छोराछोरी  मध्ये छोरी  डाक्टर छोरा लेक्चरर छन् । पढ्न लेख्न पाएको भए म पनि डाक्टर इञ्जिनियर हुन्थे होला । तर के गर्नु अहिले ड्राइभरको जागिर पनि मलाई कसैले दिँदैनन् । ‘मन्त्रीको छोरालाई ड्राइभरमा कसरी राख्नु ?’ भनेर मानिसहरुले मलाई कुनै जागिर दिँदैनन् ।

कृपासुरकै दाजुभाई पर्नेको यति एअरलाइन्समा पनि ड्राइभरको जागिरका लागि भन्न गएँ । ‘मन्त्रीको छोरालाई ड्राइभरको जागिर हुँदैन’ भनेर फिर्ता पठाए । जुन बेला मेरो उमेर ३५ कटिसकेको थियो, त्यो बेला नागरिकता पाएँ । अब सरकारी जागिर त आशै रहेन ।

कृपासुरले अंशको रुपमा एउटा घर बनाइदिन्छु भन्नुभएको थियो । विगतको सहमति सम्झाउन फोन गर्दा कान्छी आमा हप्काउँछिन् । सम्पत्ति जति सबै कान्छीआमाको नाममा छ । कृपासुरले, ‘उसैको सम्पत्ति हो त कसको नाममा हुन्छ ? ’ भन्नुहुन्छ ।

मेरी आमाको सोझोपनको फाइदा उठाएर गर्भवती बनाएर उहाँ ताप्लेजुंगबाट हिँड्नु भयो । मैले वर्षौ आफ्नो बाबु खोज्नु पर्यो । बल्ल बल्ल भेट्टाएँ । उहाँले पहिचान दिन पनि मान्नु भएको थिएन । दबाबका कारण मान्नु भयो । उहाँको सन्तान भएपछि पालन पोषण शिक्षा दिक्षाको दायित्व उहाँकै थियो । उहाँले कान्छीआमाका छोराछोरीहरुकालागि सबै गर्नुभयो, डाक्टर, लेक्चरर नै बनाउनु भयो । मेरा अहिले दुई सन्तान भइसकेका छन्, तर पनि मेरो भविष्य अन्धकार छ ।

मेरो बाल्यकाल कसैले फर्काउँन सक्र्दैन । कृपासुरले संसारको सबै सम्पत्ति मेरै नाममा राखिदिए पनि मैले ‘बाबुविना सन्तान’का रुपमा बाँचेको जीवनको क्षतिपूर्ति हुन सक्दैन । कृपासुरले अहिले मलाई अंश नदिने प्रपञ्च गर्नुभएको छ । तर म माथि भएको अत्याचार अंश भन्दा भयंकर कालो र अध्याँरो छ । न्याय र समानताको लागि उहाँले राजनीति गर्नुभएको होला, तर मेरो जीवनको उज्यालो खोसेर, मेरो बाल्यकाल खोसेर, मेरो भविष्य खोसेर कस्तो न्यायका लागि राजनीति गरेको हो मैले बुझेको छैन ।

एक छिनलाई मानौं, मलाई उहाँले आफ्ना छोराछोरीलाई भन्दा बढी नै अंश दिनु भयो रे । के अब म उहाँका अन्य छोराहरुले जस्तो स्वाभिमानी

जीवन बाँच्न सक्छु ? कदापी सक्दीन । किनभने मैले बढीमा टाउको लुकाउने एउटा छाप्रो पाउने हो । बाँकी जीवन त मैले श्रम गरेर बिताउनु पर्छ । ड्राइभर, श्रमिक आदि मै जीवन सक्नु पर्छ । उहाँका अरु छोराहरुले जस्तो सामाजिक सम्मान मैले कहिले पाउने ?

मेरो जीवनको यो अध्यारो उहाँले जति रुपैयाँ तिरेर पनि किन्न सक्नु हुन्न । मेरो भविष्य खोस्ने आफ्नै बाबु हुन् । यो मलाई थाहा छ । तर म त्यही कुरा गरिरहेर बस्दीनँ । जीवन संघर्षपूर्ण छ । संघर्ष गर्छु । आफ्नो अधिकारका लागि लड्छु ।

म नेकपा एमालेलाई न्यायका लागि निवेदन पनि दिँदैछु । पहिले पनि एमालेले म र मेरो आमामाथिको अन्याय भएको थाहा पाएर कदम चालेको थियो । पार्टीले नै केही कुरा मिलाएको पनि हो । अब पनि आशा छ । राष्ट्रपति कार्यालयमा पनि पत्र लेख्छु । संघर्षका अरु काम पनि गर्छु ।

कृपासुर शेर्पा मन्त्री हुँदा मलाई शेर्पा समाजका दुई जना  निमा शेर्पा र फुर्वा शेर्पाले फस्ल्याङ फुस्लुङ पारे । ‘हाम्रो जातिबाट पहिलो फूल मन्त्री’ हो । यस्तो बेलामा किन अमिल्दो कुरा गर्नुहुन्छ । यस्तो नगर्नुस । तपाईलाई न्याय हुन्छ भनेर अनेक गरे । मलाई पनि यति वर्ष राजनीति गरेर मन्त्री हुन पाएको बेला अरु कति सघर्ष गर्नु भनेर उधारोमै विश्वास गरेर सहमति गरेँ । सरकार ढलेपछि उहाँको मन्त्री पद स्वतः गयो । तर उहाँले मेरो कारणले मन्त्री पद गएको भन्नुहुन्छ । यो त संसारलाई थाहा भएको कुरा होइन र ?

मैले ५२ सालमै करातेमा ब्लाक बेल्ट पाएको थिएँ । अरु प्रमाणपत्र पनि छन् । कराते सिकाएर पनि त्यो बेला २–४ हजार कमाउँथे । प्रतिभा भएर पनि मैले प्रतिस्पर्धामा जान पाइनँ । किनकी मसँग नागरिकता थिएन । यस्ता अनेकन दुःख र पीडाका कथा व्यथा छन् । यस्तो कथा व्यथा न कृपासुरलाई थाहा छ न उनका परिवारका अरु सदस्यलाई । ३५ वर्ष अघि मेरी आमामाथि गरेको अन्याय सुधार्ने मौका उहाँलाई थियो । तर अब धेरै ढीलो भइसकेको छ ।

(एमालेका सांसद तथा पूर्वमन्त्री कृपासुर शेर्पाका छोरा गणेश शेर्पासँग गरिएको कुराकानीमा आधारित)

ganesh sherpa kripasur sherpa

विशेष