News समाज

सहकारीबाट ऋण झिकेर व्यवसायमा लगानी गर्दै महिला

सहकारीबाट ऋण झिकेर व्यवसायमा लगानी गर्दै महिला
मंसिर २९ । घरायसी काममा मात्र सीमित रहने पाल्पाका ग्रामीण भेगका महिला हिजोआज विभिन्न व्यवसाय चलाएर आत्मनिर्भर बन्दै गएका छन् । सधैँ घरायसी कामले बाहिर निस्कन नपाउने महिला गाउँगाउँमा सहकारी खुलेसँगै आयआर्जनका निम्ति सक्रिय बन्न थालेका छन् । सहकारीले विभिन्न व्यवसायका लागि बिनाधितो सहुलियत दरमा ऋण उपलब्ध गराउन थालेपछि महिलाको परनिर्भरता अन्त्य हुँदै गएको छ । श्रीमानले अर्की श्रीमती बिहे गरेपछि जीवन गुजाराका लागि रामपुरकी गीतादेवी विक ऋण झिक्न अन्धकारमुक्ति बचत तथा ऋण सहकारीमा पुगिन् । सहकारीले उनलाई बिनाधितो रु एक लाख ५० हजार ऋण सहयोग दिएपछि विकले कस्मेटिक पसल सुरु ग्िरन् । आम्दानी बढ्दै गएपछि उनले कस्मेटिक पसलसँगै फेन्सी, सिलाइकटाइ पनि सुरु गरिन् । बेलाबेलामा सहकारीबाट सहुलियत दरमा ऋण झिक्दै व्यवसाय बढाउँदा यथेष्ट आम्दानी हुन थालेपछि उनले चार जनालाई रोजगार समेत दिएकी छिन् । “यही व्यवसायबाट छोरीलाई स्टाफ नर्सको पढाइ खर्च जुटाए,” विकले भनिन् ,“मेरो जीवनको बाँच्ने आधार नै सहकारी बनेको छ ।” श्रीमानबाट सहारा नपाएकी विकले सहकारीबाटै ऋण लिएर घर निर्माण गरेकी छिन् । त्यस्तै रामपुर कठानकी टकादेवी भट्टराईले पनि सहकारीबाटै ऋण लिएर तरकारी, कुखुरापालन व्यवसाय र कस्मेटिक पसल चलाउँदै आएकी छिन् । “पैसाका निम्ति सधँै श्रीमानको भर पर्नुभन्दा आफँै उद्यमी बन्ने सोच राखेर व्यवसाय सञ्चालन गरेको छु,” उनले भनिन् । सहकारीबाट ऋण झिकेर उनले तरकारीखेतीमा लगानी गरेका छिन् । तरकारीखेतीबाट आम्दानी बढ्दै गएपछि कस्मेटिक पसल र कुखुरापालन थालेकी छिन् । उनले करिब आठ रोपनी जग्गामा तरकारी लगाएर एउटा याममा रु दुई लाखदेखि रु तीन लाखसम्म आम्दानी गर्दै आएकी छिन् । रामपुर बगरचोककी उर्मिला रानाले बिनाधितो अन्धकारमुक्ति बचत तथा ऋण सहकारीले ऋण दिएपछि रु २० हजारको लागतमा होटल व्यवसाय चलाइन् । सोही व्यवसायबाट अहिले उनले करिब रु ३० लाखमा घडेरी जोडेकी छिन् । व्यवसाय गर्न चाहने महिलाका लागि सहकारीले सहुलियत दरमा बिनाधितो ऋण उपलब्ध गराउन थालेपछि धेरैजसो महिलाले आत्मनिर्भर बन्ने अवसर प्राप्त गरेका छन् । एकल जीवन बिताउँदै आएका भीमा आलेलाई सहकारीले बाँच्ने आधार बनाइदिएको छ । रु १५ हजार ऋण लिएर व्यवसाय चलाएकी उनले अहिले घडेरी जोड्न सफल भएकी छिन् । गरिब, एकल, असहाय, दलित, विपन्न वर्गका महिलाका निम्ति सहकारीले सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराएपछि धेरै महिलाको सहकारीमा आकर्षण बढ्दो छ । अन्धकारमुक्ति बचत तथा ऋण सहकारीमा आबद्ध करिब दुई हजार महिलाले कृषि, पशुपालन, विभिन्न पसल, होटल व्यवसाय चलाएर आत्मनिर्भर बन्दै गएका छन् । सहकारीले व्यवसाय गर्न चाहने महिलालाई बिनाधितो १२ प्रतिशत ब्याजदरमा सहुलियत ऋण उपलब्ध गराउँदै आएको छ । संस्थाले रु एक लाख ५० हजारसम्म बिनाधितो र त्यो भन्दामाथि व्यवसाय गर्नेका लागि परियोजना हेरेर धितो राखेर रु नौ लाखसम्म ऋण उपलब्ध गराउँदै आएको सहकारीका व्यवस्थापक दीपेन्द्रप्रसाद पौडेलले बताए । सहकारीमा आवद्ध आठ हजार २६७ सेयर सदस्यमध्ये कारोबारमा महिला अगाडि छन् । ग्रामीण बचत तथा ऋण सहकारी संस्था गाडाँकोटका व्यवस्थापक चिरन्जीवी सिग्देल पीडामा परेका र केही गरेर देखाउने महिलाका लागि सहकारी सहारा बनेका छन् । बिनाधितो ऋण प्रवाहबाट जिल्लामा महिला उद्यमी बढ्दै गएको जिल्ला डिभिजन सहकारी कार्यालयका प्रमुख कृष्णबहादुर बोहोराले बताए । जिल्लामा हाल दर्ता भएका २७१ सहकारीमध्ये महिला सहकारी ४६ वटा रहेका उनले जानकारी दिए ।

Sahakari

विशेष