अर्थ News

दूध बिक्रीबाट मासिक अठार लाख आम्दानी

दूध बिक्रीबाट मासिक अठार लाख आम्दानी
मंसिर २९ । सम्भावनाको खोजी गर्दै दृढइच्छा शक्तिका साथ निरन्तर लाग्ने हो भने गाईपालन व्यवसायसँगै फर्म अवलोकन पनि आम्दानीको राम्रो स्रोत बन्न सक्छ भन्ने नमुना गोरखाका कृषक राजेन्द्रराज पाण्डे बनेका छन् । पालुङटार नगरपालिका–३ च्याङ्लीमा रहेको कामधेनु गाईपालन केन्द्रबाट दैनिक तीन हजार ५०० लिटर दूध बिक्री गर्दै आएका उनले एक वर्षको अवधिमा केन्द्रको अवलोकन गर्न आएका चार सयवटा समूहबाट टिकट काटेबापत रु चार लाख अतिरिक्त आम्दानी गरेका छन् । समूहगत रुपमा अवलोकन गर्न आउनेबाट रु एक हजार शुल्क लिने गरेका छन् । “अवलोकन गर्न कृषि सहकारीबाट बढी मात्रामा आउने गरेका छन्,” पाण्डेले भने । गाईपालन केन्द्रमा अघिल्लो वर्ष अवलोकन गर्न दुई हजार ५०० जना आएका थिए । दूध बिक्रीबाट भन्दा अवलोकन गर्न आएकाहरुबाट प्राप्त आम्दानीबाट बढी सन्तुष्टि मिलेको उनको भनाइ छ । विसं २०५२ मा सातवटा उन्नतजातका गाईबाट व्यवसाय सुरु गर्नुभएका पाण्डेको गाईकेन्द्रमा हाल २८० वटा गाई रहेका छन् । उनको गोठमा रहेका एक सय २५ गाई दुधालु रहेका छन् । “दैनिक तीन हजार ५०० लिटर दूध उत्पादन हुन्छ, मासिक करिब रु १८ लाख आम्दानी हुन्छ,” उनले भने । केन्द्रमा हाल २० जना स्थायी तथा १० जना ज्यालादारीका कर्मचारी रहेका छन् । उनले चिस्यान केन्द्र समेत स्थापना गरेका छन् । हालसम्म उनले रु ६ करोड लगानी गरिसकेका छन् । उनले ४०० रोपनी क्षेत्रफलमा उन्नत जातको घाँस उत्पादन गरिरहेका छन् ।

dudh byabasaya

विशेष