विदेश

इटालीका नयाँ प्रधानमन्त्रीले तल्लो सदनमा विश्वासको मत जिते

इटालीका नयाँ प्रधानमन्त्रीले तल्लो सदनमा विश्वासको मत जिते
मंसिर–२९ । इटालीको नयाँ सरकारका प्रधानमन्त्री पाओलो जेन्टिलोनीले मङ्गलबार संसद्को तल्लो सदनको विश्वासको मत जितेका छन् । मङ्गलबार भएको सो मतदानमा उनको पक्षमा ३६८ र विपक्षमा १०५ मत परेको थियो । इटालीका नवनियुक्त प्रधानमन्त्री पाओलो जेन्टिलोनीले सोमबार मन्त्रीपरिषद्को गठन गरेको र नवनियुक्त मन्त्रीमण्डल सबै सदस्यहरुले सोमबार साँझ नै औपचारिक सपथ ग्रहण गसिकेका थिए । अब यस मन्त्रीमण्डलले सिनेटमा दोस्रो चरणको विश्वासको मत लिनु पर्ने र सो का लागि आज बुधबार मतदान हुने बताइएको छ । आफूलाई समर्थन गर्न सांसदहरु समक्ष याचना गर्दै मतदान अगाडि जेन्टिलोनीले गरेकाे एक सम्बोधनमा इटालीले कडा दवाव खेप्नु परेका प्रमुख मुद्दाहरुमा इटालीको तेश्रो ठूलो ऋणदाता – मोन्टे डे पास्चि डि साइना (एमपिएस) ले सामना गर्नुपरेको आर्थिक सङ्कट, आप्रवासी समस्या र निर्वाचन प्रणालीमा सुधार जस्ता विषयमा नयाँ सरकार केन्द्रित भई इमान्दारीपूर्वक काम गर्ने बताएका थिए । साथै, कमजोर राष्ट्रिय अर्थतन्त्रको पुनःसुदृढिकरण, उच्च बेरोजगारी दरमाथि नियन्त्रण र भूकम्प प्रभावित देशके मध्यवर्ती क्षेत्रमा पुनःनिर्माणजस्ता विषयहरु सरकारको प्राथमिकता परेको उनले बताएका छन् । पूर्वप्रधानमन्त्री म्याटेओ रेन्जीले राजीनामा दिएपछि जेन्टिलोनीलाई गतः ७ डिसेम्बरका दिन इटालीका राष्ट्रपति म्यटारेलाले प्रधानमन्त्रीमा नियुक्त गरी नयाँ मन्त्रीमण्डल गर्न लगाएका हुन् । नव नियुक्त ६२ वर्षीय प्रधानमन्त्री जेन्टिलोनीलाई संक्रमणकालीन सरकारको नेतृत्व गर्दै सन् २०१८ को फेब्रुअरीमा संसदीय निर्वाचन गर्ने जिम्मेवारी समेत थपिएको छ । यसअघि उनले इटालीको परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए । इटालीमा संवैधानिक सुधार विषयमा गतः डिसेम्बर ४ मा सम्पन्न भएको जनमत सङ्ग्रहमा रेन्जीको विपक्षमा मत परिणाम आएपछि उनले राजीनामा दिएका थिए । जेन्टिलोनीलाई निवर्तमान प्रधानमन्त्री रेन्जीको निकट सहयोगीका रूपमा लिइन्छ । रेन्जी र जेन्टिलोनी दुबैजना एउटै दल – सेन्टर लेफ्ट डेमोक्र्याटिक पार्टीका सदस्य हुनुहुन्छ र यस पार्टी संसद्काे सबभन्दा ठूलो पार्टीको रुपमा कार्यरत छ । निवर्तमान प्रधानमन्त्री रेन्जीको निकट रहनु भएका कारण रेन्जीको राजनीतिक कार्ययोजनालाई नवनियुक्त प्रधानमन्त्रीले पनि अगाडि बढाउने विश्लेषकहरुले विश्लेषण गरेका छन् । रासस÷सिन्ह्वा

इटाली पाओलो जेन्टिलोनी

विशेष