News

संशोधन प्रस्ताव परिमार्जन गरी संविधान संशोधन गर्न सकिन्छः प्रधानमन्त्री

संशोधन प्रस्ताव परिमार्जन गरी संविधान संशोधन गर्न सकिन्छः प्रधानमन्त्री

मंसिर - २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले दर्ता गराएको संविधान सशोधन प्रस्ताव कुनै पनि हालतमा फिर्ता नहुने बताएका छन् । जनकपुर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सत्ता साझेदार, प्रतिपक्ष, मधेसी मोर्चा र सम्बद्ध पक्षसँग छलफल गरी संशोधन प्रस्ताव परिमार्जन गरी संविधान संशोधन गर्न सकिने बताए ।

 

प्रधानमन्त्री दाहालले संविधान संशोधन प्रस्तावमा प्रतिपक्षले पनि सहयोग गर्नेमा आफू आशावादी रहेको बताए । संशोधनमार्फत सबै मागको तत्काल सम्बोधन नभए पनि केही मात्रामा मुद्दाको सम्बोधन हुने किसिमले परिमार्जनको पक्षमा समझदारी र सहमति जुटाउने पहल भइ रहेको उनले जानकारी दिए । उनले स्थानीय तहको निर्वाचन नयाँ संरचना वा पुराना संरचनाअनुसार गर्ने बारेमा टुङ्गो नलागे पनि सकेसम्म नयाँ नभए पुराना संरचनामा गएर पनि निर्वाचन गराउने सहमतिको प्रयास भइरहेको बताए । देशभर नै विद्युत् कटौती अन्त्य गर्ने किसिमले विद्युत आयोजनाको निर्माण सम्पन्न गराउने कार्यमा सरकार प्रयत्नशील रहेको बताउँदै प्रधानमन्त्री दाहालले ढल्केबर विद्युत् प्रसारण केन्द्रमा भएको उत्साहजनक कार्यले दुई महिनाभित्र २५० मेगावाट विद्युत प्रसारण हुने जानकारी दिए । रासस

पुष्पकमल दाहाल ‘प्रचण्ड’

विशेष