राजनीति News

गृहकार्य नगरी संशोधन प्रस्ताव दर्ता गर्दा समस्याः रामचन्द्र पौडेल

गृहकार्य नगरी संशोधन प्रस्ताव दर्ता गर्दा समस्याः रामचन्द्र पौडेल
मंसिर ३० । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गृहकार्य नगरिकन संविधान संशोधन प्रस्ताव दर्ता भएकाले सबैको चित्त बुझाउन कठिन भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले हडबडमा प्रस्ताव पेस भएकाले एमाले लगायतका दलको चित्त बुझाउन नसकिएको बताए । नेता पौडेलले सामान्य छलफल भए पनि आफू जापान गएका बेला हतारमा प्रस्ताव पेस गर्दा समस्या उत्पन्न भएको बताए । सरोकारवाला र अन्य दलहरुसँग राय लिएर सहमतिमा प्रस्ताव दर्ता गर्नुपर्नेमा त्यसो नहुँदा अझै समस्या बाँकी रहेको उनले बताए । एमालेलाई विश्वासमा लिएर मात्रै जानुपर्ने आफ्नो सुरुदेखिको धारणामा कुनै परिवर्तन नभएको भन्दै उनले अब भने निकास दिनुपर्ने उल्लेख गरे । आयोगले स्थानीय निकायको सीमांकन गर्न नसकेकाले पुरानै संरचनामा निर्वाचन गर्ने विषयमा छलफल भइरहेको भन्दै उनले स्थानीय निकायमा जनप्रतिनिधि आएपछि सीमांकनमा समेत सहज हुने बताए । वैज्ञानिक रुपमा सीमांन हुनुपर्नेमा आयोगले त्यसो गर्न नसकेको उनको भनाई थियो । स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा जनताका काम हुन नसकेको भन्दै उनले यथासक्य चाँडो यथास्थितिमै भए पनि निर्वाचन गर्नुपर्नेमा जोड दिए । स्थानीय निकायको बजेट दुरुपयोग भएका भन्दै उनले जनप्रतिनिधि आएपछि बजेट सदुपयोग हुने बताए । अहिलेको उपलब्धिलाई संस्थागत गर्नुपर्ने भन्दै पौडेलले सबै दललाई संविधान कार्यान्वयनको पक्षमा भने एक मत हुन आग्रह गरे ।

Ramchandra poudel

विशेष