News

जेसीजको निर्वाचनमा धाँधली, खसेको मतभन्दा घोषित मत बढी

जेसीजको निर्वाचनमा धाँधली, खसेको मतभन्दा घोषित मत बढी

पुस – १ । नेपाल जेसीजको ४३ औं राष्ट्रिय महाधिवेशनमा भएको निर्वाचनको मत परिणाममा धाँधली भएको अध्यक्षका उम्मेद्धवारले नै आरोप लगाएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अध्यक्षका उम्मेद्धवार जेसी विष्णु बरालले यस्तो आरोप लगाएका हुन् । उनले भने, ‘चुनावमा फर्जी मत खसालेर अध्यक्षका अर्का उम्मेद्धवार जेसी प्रकाश अधिकारीलाई जबरजस्ती विजयी घोषणा गरियो, यो गैरकानूनी काम हो, यसमा हाम्रो घोर आपत्ति छ ।’ उनले निर्वाचन परिणाम विरुद्ध उजुरी पर्दापर्दै निर्वाचनका सम्पूर्ण मतपत्र, कागजातहरु तत्काल जलाएर प्रमाण नष्ट गर्ने कार्य भएको समेत आरोप लगाए । उनका अनुसार १३५० मतपत्र जारी गरिएको थियो तर त्यसमा ८५ मतपत्र फिर्ता आएको थियो । जसमा कुल १२३५ मत मतदान भएको भनि मुचुल्का समेत भएको तर मतगणना गर्दा १२८४ मतगणना भएको देखिएकोले त्यसमा षड्यन्त्र तथा धाँधली गरिएको थियो । बराललले उक्त निर्वाचन परिणाम सार्वजनिक हुनु अगावै आफूले उम्मेद्धवार तथा उम्मेद्धवारको प्रतिनिधिको स्विकृति विना निर्वाचनको मतपरिणाम नै सार्वजनिक नै नगराइदिन तथा सम्पूर्ण कागज एवम् मतपत्र सुरक्षित राखिदिनको लागि जिल्ला प्रशासन काठमाडौंमा समेत बोधार्थ गरि निवेदन दर्ता गराएको जानकारी दिए । १८ वर्षदेखि ४० वर्षभित्रका युवाहरुको संस्थालाई ४० वर्ष भन्दा माथिकाहरुले संचालन गर्न खोज्दा गत वर्ष पनि नेपाल जेसीज अन्तराष्ट्रिय कार्वाहीमा परेको उल्लेख गर्दै उनले भने, ‘यस्ता बेथिति र विकृतिहरु नेपाल जेसीजमा थपिदै गइरहेका छन् जसका विरुद्ध हामीले उठाएका बुलन्द आवाजहरुलाई दमन गर्ने र कानुन नियम र विधान विपरितका क्रियाकलापलाई संस्थागत गर्ने दुष्प्रयाशहरु भइरहेका छन् ।’

नेपाल जेसीज

विशेष