मुख्य समाचार News

पूर्व मुस्ताङी राजा विष्टको अन्येष्टि सोमबार

पूर्व मुस्ताङी राजा विष्टको अन्येष्टि सोमबार
पुस – १ । उपचारका क्रममा गए राति निधन भएका पूर्व मुस्ताङी राजा जिम्मे परवल विष्टको अन्येष्टि आगामी सोमबार मात्र हुने भएको छ । युरिक एसिड र उच्च रक्तचापबाट लामो समयदेखि पीडित विष्ट पछिल्लो समय निमोनिया र रुघाखोकीबाट ग्रसित थिए । काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा उपचारत विष्टको ८५ वर्षका उमेरमा निधन भएको हो । लोमान्थाङलगायत उपल्लो मुस्ताङ, पोखराबाट उनका आफन्तले अन्तिम श्रद्धाञ्जलि दिने र दर्शन गर्ने चाहना राखेका कारण उनको अन्येष्टि लम्बिएको पूर्वराजदरबारका सल्लाहकार इन्द्रधारा विष्टले जानकारी दिए । “आइतबार बौद्धधर्ममा खासै राम्रो बार मानिँदैन, त्यसैले सोमबार बौद्ध धर्मअनुसार उहाँको अन्येष्टि हुनेछ”, उनले भने । विसं २०६२र०६३ को जनआन्दोलनपछि नेपालबाट राजतन्त्र उन्मुलन हुनु अघिसम्म उपल्लो मुस्ताङको शासन सत्तामा शक्तिशाली रहँदै आएका पूर्वराजा विष्ट त्यसयता भने निष्क्रिय थिए । आधा नेपाली र आधा तिब्बती भाषा बोल्ने पूर्वराजा विष्ट जनताका समस्या सुनेर निर्णय लिने, कम बोल्ने, असहाय, गरिब तथा वृद्धवृद्धालाई सम्मान गर्ने बानीका कारण उपल्लो मुस्ताङमा अझै लोकप्रिय थिए । “धेरै जनता आउन चाहेकाले पनि हामीले अन्येष्टि कार्यक्रम केही ढिला गर्न लागेका हौँ”, सल्लाहकार विष्टले भने । काठमाडौंको बौद्धमा उनीसँगै पूर्वरानी सिटोल परवल विष्ट, पूर्वराजकुमार जिग्मे सिङ्गी परबल विष्ट (अशोक), पूर्वराजकुमारी र नातानातिनी बस्दै आएका थिए । रासस

जिम्मे परवल विष्ट मुस्ताङी राजा

विशेष