जाजरकोटको गरिबी दूर गर्ने योजना शक्ति बस्नेत र अर्का नेता मिलेर काठमाडौंबाटै बाँडचूँड गरे
पुस २ । जिल्लाका सांसदहरुले निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट राजनधानीमै बसेर बाँडफाँड गरेको खुलासा भएको छ । जिल्लाको पूर्वाधार विकासका लागि निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट प्राप्त बजेट काठमाडौंमै बसेर माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेत र कांग्रेस सांसद राजीवविक्रम शाहले बाँडफाँड गरेको भन्दै स्थानीयले विरोध गरेका छन् ।
परिषदले महत्व दिएका योजनालाई प्राथमिकता नदिएर उनीहरुले हचुवाका भरमा बजेट बाँडफाँड गरेको भन्दै सरोकारवालाहरुले विरोध गरेका हुन् । उनीहरुले निर्वाचन क्षेत्र विकास कार्यक्रमको तीन तीन करोडको दरले ६ करोड बजेट राजधानीबाटै बाँडफाँड गरेका छन् । सांसद बस्नेत र शाहले स्थानीय विकास अधिकारी इन्द्र गौतम, जिल्ला प्राविधिक कार्यालयका प्रमुख जिल्ला इन्जिनियर सूर्य शाही र योजना अनुगमन तथा प्रशासनकीय अधिकृत गणेशप्रसाद खनाललाई केही दिनअघि काठमाडौ बोलाएर निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट बाँडफाँड गर्ने निर्णय गरेका हुन् । –अन्नपूर्ण पोस्ट्बाट