News

चार मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

चार मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक
पुस–३ । सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०७३ साल साउन २० गते गठित मन्त्रिपरिषद्मा रहेका सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । सञ्चारमन्त्री कार्कीद्वारा प्रस्तुत सम्पत्ति विवरणअनुसार ओलढुङ्गा माम्खा गाविस–१ मा स्व रत्नदेवीको नाममा खेती गर्न छोडिएको ४ रोपनी जमिन, मामाबाट स्वामित्व हस्तान्तरण भई आएको छोरोको नाममा रहेको भक्तपुर झौखेल–१ स्थित १० आना दुई पैसा जमिन र उहाँकै नाममा भक्तपुर सिपाडोल–१ मा नौ आना जमिन रहेका छन् । उनले आफ्नी पत्नीको स्वामित्वमा भारतको सिक्किम र दार्जिलिङ्मा केही जग्गा र घरहरु रहेको उल्लेख गरेका छन् । मन्त्री कार्कीको नाममा विभिन्न बैंकमा गरी रु १४ लाख नगद मौज्दात रहेको छ । यस अतिरिक्त उहाँसँग दश तोला सुन रहेको छ । वनमन्त्री भण्डारीको सम्पत्ति वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारीले प्रस्तुत गर्नुभएको सम्पत्ति विवरणअनुसार उनकीकी श्रीमती अन्जना (उप्रेती) भण्डारीका नाममा पैतृक स्रोतबाट प्राप्त काठमाडौँमा अढाई तले घरसहित घडेरी र आमा श्रीमती दमयन्ती भण्डारीका नाममा तनहँको पुर्कोटमा तीन तले घरघडेरी रहेका छन् । त्यस्तै, पैतृक स्रोतबाट प्राप्त श्रीमतीका नाममा काठमाडौँमा २६५.९ वर्गमिटर र आमाका नाममा तनहुँमा २९ रोपनी जग्गा रहेको पनि उनले उल्लेख गरेका छन् । मन्त्री भण्डारीसँग ४५ तोला सुन र ६० तोला चाँदीका साथै विभिन्न बैंक तथा वित्तीय संस्थामा रु दुई लाख ५५ हजार नगद रहेको छ । उनले विभिन्न व्यक्तिबाट रु ३ लाख ५० हजार ऋण लिएको र ११ लाख ऋण दिएको पनि उल्लेख गरेका छन् । मन्त्री भण्डारीको नाङल क्रसर ढुङ्गा उद्योग काभ्रेपलाञ्चोकमा १० प्रतिशत शेयर रहेको छ । मन्त्री नायकको सम्पत्ति कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय शङ्कर नायकले प्रस्तुत गरेको सम्पत्ति विवरणमा आमा ईश्वरीदेवीको नाममा सिराहा बड्हरामाल – ६ मा ८ कठ्ठा जग्गा र आफ्नै नाममा सिराहामै १७ धुर जग्गा जग्गा रहेको देखाइएको छ । त्यस्तै, आमाकै नाममा सिराहामा पाँच बिगाहा जग्गा र बाजे सरभुग नायकको नाममा सिराहा, उदयपुर र धनुषमा चार बिगाहा जग्गा रहेको उनले उल्लेख गरेका छन् । यी सबै पैतृक सम्पत्ति भएको उल्लेख छ । मन्त्री नायकसँग सुन १५ तोला, चाँदी ४० तोला, नगद रु दुई लाख र एभरेष्ट बैंकमा रु दुई लाख नगद रहेको विवरणमा उल्लेख छ । मन्त्री गिरीको सम्पत्ति सिँचाइमन्त्री दीपक गिरीले आफ्नो सम्पत्ति विवरणमा राजधानीमा दुई रोपनी नौ आना र राजधानी बाहिर ६ बिगाहा तीन कठ्ठा जमिन भोगचलनमा रहेको उल्लेख गरेका छन् । काठमाडौंको टोखा चण्डेश्वरी नगरपालिका–४ मा दुई रोपनी नौ आना जग्गा र सो जग्गामा बनेको तीन तले पक्की घर र दाङ, हेकुली वडा नं ९ मा ६ बिगाहा तीन कट्ठा जग्गा र सो जग्गामा पाँचवटा घर रहेको उहाँको सम्पत्ति विवरणमा उल्लेख छ । सम्पत्ति विवरणमा ५० तोला सुन, झन्डै दुई किलो चाँदी र तीन सेट हीराका गहना पैतृक सम्पत्तिबाट आर्जन भएको उल्लेख छ । त्यसैगरी, उनको ग्लोबल बैंकमा रु तीन लाख ९४ हजार नगद मौज्दात रहेको छ । यस अतिरिक्त स्वर्गद्वारी क्रसर उद्योगमा १० प्रतिशत र योगी ब्रदर्स क्रसर उद्योगमा २५ प्रतिशत सेयर र एक सवारीसाधन (स्कोरपिया) रहेको उनले आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । रासस

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सम्पत्ति विवरण

विशेष