News

एउटा गाउँका खेलाडीले धानेको सुदूरपश्चिमको हक्की

एउटा गाउँका खेलाडीले धानेको सुदूरपश्चिमको हक्की
पुस ४ । आगामी साता विराटनगरमा हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको अन्तिम तयारीका लागि जिल्लाका महिला तथा पुरुष हक्की खेलाडी प्रशिक्षणमा सक्रिय छन् । हक्कीमात्रै नभएर प्रतियोगितामा छनौट भएका साढे चार सयभन्दा बढी खेलाडी आ–आफ्ना खेलको प्रशिक्षणमा जुटिरहे पनि हक्की खेलको बिँडो भने सुदूरपश्चिमकै लागि कञ्चनपुरले मात्रै धानेको छ । नौ वटा जिल्ला रहेको सुदूरपश्चिममा हक्की कञ्चनपुर बाहेक अन्य कुनै जिल्लामा छैन । सो प्रतियोगिताका लागि छनोट भएका १८ सदस्यीय महिला तथा पुरुष हक्की खेलाडी सबै कञ्चनपुरकै हुन् । विसं २०५६ देखि कञ्चनपुरमा हक्की खेल खेल्न थाले पनि नेपालकै हक्की खेलमा यहाँको टोली बलियो रुपमा देखापरेको हक्कीका सहायक प्रशिक्षक नरबहादुर चन्दको भनाइ छ । उनले भने – 'पुरुष टोली पाँचौँ राष्ट्रिय प्रतियोगितादेखि प्रतिस्पर्धामा उत्रिएको हो , महिला टोली भने पहिलो पटक सातौँ प्रतियोगितामा प्रतिस्पर्धाका लागि मैदानमा आउँदैछ ।' पाँचौँ र छैठौँ राष्ट्रिय हक्कीमा च्याम्पियन बनेका खेलाडी आगामी प्रतियोगितामा उपाधिका लागि कब्जा जमाउने रणनीतिका साथ साँझ, बिहान प्रशिक्षणमा सक्रिय भएको सहायक प्रशिक्षक चन्दले बताए। “हाम्रो राष्ट्रिय स्तरमा प्रतिस्पर्धा भनेकै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबसित हो ।” उनले भने– “हामी उपाधिविहीन भएको कुनै प्रतियोगिता छैन ।” हाल सुदूरपश्चिमको पुरुष तथा महिला हक्की टोलीमा १४ देखि २५ वर्षसम्मको उमेर समूहका नयाँ तथा पुराना खेलाडी छन् । सबै खेलाडी मानसिक र शारीरिक रुपले तयार छन्, नयाँ अनुहारको जाँगर र पुरानाको अनुभवले सफलता मिल्नेमा आशा रहेकाे सहायक प्रशिक्षक चन्दले बताए । त्यसैगरी गत वर्ष भारतको गोवाहिटीमा सम्पन्न साफ खेलकुदमा नेपाली महिला हक्की टोलीको नेतृत्व गर्नुभएकी महिला खेलाडी तुलसी डगौराले फेरी महिला टोलीको नेतृत्व गरेका छन् । “सो प्रतियोगिताका लागि महिला टोलीमा सातजना साफ खेलकुदको अनुभव लिइसकेका खेलाडी छन् ।” तुलसीले भने – “सातौँमा उपाधि जित्न धेरै गाह्रो नहोला ।” 'साफमा त हामीलाई पहाडसित लड्न गएजस्तो भयो ।' उनले भने, 'त्यहाँ त हाम्रो मैदानको स्तरबाटै धेरै सिक्ने मौका मिल्यो ।' 'सुदूरको हक्की कञ्चनपुरकै भरमा छ ।' सहायक प्रशिक्षक चन्दले भन्नुभयो, 'हक्कीमा देशकै बलियो देखिएको आर्मी क्लबमा पनि आफूले उत्पादन गरेका खेलाडी छन् ।'
एउटै गाउँका खेलाडी हक्की टोलीमा सातौँ राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका १८मध्ये १७ जना सुदूरपश्चिमको हक्की खेलको टोली एउटा गाउँको हो भन्दा पत्यार नलाग्न सक्छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामका खेलाडीले त्यो यथार्थ सावित गरेका हुन् । प्रतियोगिताका लागि सुदूरपश्चिमको प्रतिनिधित्व गर्ने पुरुष हक्की टोलीमा १७ खेलाडी उल्टाखाम गाउँका हुन् । हक्की प्रशिक्षक नरबहादुर चन्दले भने – 'उल्टाखामबाट दर्जनौँ खेलाडीले साफ र राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन् ।' 'सेनाको क्लबमा पनि महिला र पुरुष गरी चारजना खेलाडी उल्टाखामका छन् ।' चन्दले भने – 'हक्की खेलाडी उत्पादन गर्ने मुहान नै उल्टाखाम बनेको छ ।' सुदूरका पहाडी जिल्ला बैतडी, दार्चुला र डडेल्धुराका साथै आदिवासी जनजातिसमेत बसोबास गर्ने उल्टाखाममा हक्की खेलाडी जन्माउने थलोका रुपमा परिचित भएको छ । उल्टाखामसँगै जोडिएको बागफाँटा स्कुलमा हक्की खेलाडी नियमित प्रशिक्षणमा जुट्ने गरेका कारण पनि सुदूरपश्चिमको टोलीमा त्यहाँको खेलाडी बढी परेको चन्दले बताउनुभयो । 'भीमदत्तनगर बजारको खेलाडी भनेको एकजना मात्रै छ ।' उनले भने – 'बजारका युवा खेल्न आउन मान्दैनन्, गाउँका स्कुलमा गएर खेल्न विद्यार्थीलाई डो¥याएर ल्याउनुपर्छ ।' प्रतियोगिता भएसँगै हरेक वर्ष नयाँ खेलाडी उत्पादन हुँदै गइरहेको चन्दको भनाइ छ । 'आगामी प्रतियोगिताका लागि छनोट भएकामध्ये धेरै नयाँ अनुहार हुन् ।' उनल भने – 'नयाँ र पुराना सबै खेलाडी उल्टाखामकै हुन् ।' झन्डै छ वर्ष पहिले सुदूरपश्चिममा भएको छैठौँ हक्की प्रतियोगितामा हक्कीमा सुदूरपश्चिम च्याम्पियन बनेको थियो । अन्तिम चरणमा आर्मी क्लबलाई १–० गोल अन्तरले पछि पार्दै सुदूरपश्चिमले उपाधिमाथि कब्जा जमाएको प्रशिक्षक चन्दले बताए । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमबाट विभिन्न खेलका ४९२ भन्दा बढी खेलाडी सहभागी हुँदैछन् ।

रासस हक्की

विशेष