News

गलेश्वरका चट्टानमा विभिन्न आकारका चक्र देखिन थालेपछि...

गलेश्वरका चट्टानमा विभिन्न आकारका चक्र देखिन थालेपछि...
पुस ४ । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा रहेको विशाल चट्टानमा हिन्दू धर्मावलम्बीले पूजाआजा गर्ने शिवलिंग, सालीग्राम, शंखचक्र, नागमणि देखिएका छन् । मन्दिर परिसरमा नौ रोपनी क्षेत्रफलमा फैलिएको विशाल चट्टानमा गणेशलगायतका हिन्दू र्धमशास्त्रमा नामाकरण गरिएका भगवान्का विविध रुप देखिन थालेपछि संरक्षण सुरु गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताए । “मन्दिर परिसरमा रहेको विशाल चट्टानमा दैवी शक्तिमा प्रतीक देखिन थालेका छन् । सबैको आकार धर्मशास्त्रमा नामाकारण गरेजस्तै छन्” उनले भने । केसीका अनुसार सबैभन्दा बढी शिवलिंग र सालीग्राम भए पनि अन्यको संख्यासमेत बढ्दै जान थालेको छ । क्षेत्र विकास कोषले संरक्षणका लागि रङ लगाउनुका साथै आसपासका क्षेत्रमा खोजीकार्य समेत सुरु गरेको छ । मन्दिरमा पूजाआजा गर्न जाने भक्तजनले त्यहाँ समेत गएर पूजा गर्न थालेका छन् । मन्दिरका पुजारीका अनुसार आकार दिनप्रति दिन बढ्दै जान थालेपछि अवलोकन गर्न आउने समेत अचम्मित हुने गरेका छन् । त्यसक्षेत्रमा करिब ३० भन्दा बढी यस्ता चक्र रहेको अनुमान गरिएको छ । विश्वमै सबैभन्दा ठूलो चट्टानको दाबी गरिएको गलेश्वरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने पहल समेत भइरहेको छ । गलेश्वर क्षेत्रको विकासका लागि राज्य, स्थानीयका साथै प्रवासमा रहेका नेपालीले समेत सहयोग गर्दै आइरहेका छन् ।

galeshwor

विशेष