ताजा खबर News समाज

डिआइजी बढुवामा असन्तुष्ट एसपीले अदालतमा मुद्दा हाल्ने

डिआइजी बढुवामा असन्तुष्ट एसपीले अदालतमा मुद्दा हाल्ने

पुस ५ । प्रहरी नायब महानिरीक्षक डीआइजीको बढुवामा अन्याय भएको भन्दै दुई प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी अदालत जाने भएका छन् । बढुवाको सिफारिसमा नपरेका एसएसपीद्वय लब विष्ट र बलराम शर्मा पौडेलले न्यायका लागि अदालत जाने निर्णय लिएका हुन् ।

बढुवा समितिले केही दिनअघि मात्रै एसएसपी गणेश केसी, रमेश भट्टराई र केदारमान सिंह भण्डारीलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो । सो सिफारिसमा आफूहरूमाथि गम्भीर घात हुनुका साथै कार्यसम्पादन मूल्यांकनसमेत नभएको कारण न्यायका लागि अदालत जाने निर्णय गरिएको विष्ट र पौडेलको भनाइ छ । बढुवामा नपरेका एसएसपी विष्टले सिफारिस आपत्तिजनक रहेको बताए । कामलाई भन्दा अन्य विषयलाई नै प्राथमिकता दिई बढुवाको सिफारिस गरेका कारण अदालत जानुपर्ने बाध्यता आएको विष्टको भनाइ छ ।

‘म काममा विश्वास गर्ने मानिस भएकाले नेताहरूको घरघरमा नपुगेको परिणाम भोग्दै छु,’ एसएसपी विष्टले राजधानीसँग भने, ‘यो मुलुकमा कानुन पनि छ, त्यसकारण कानुनी उपचारको तयारी अघि बढाएको छु ।’ प्रहरी उपरीक्षक एसपीबाट एसएसपीमा बढुवा हुंंदा विष्ट पहिलो नम्बरमा थिए । तर, डीआईजी बढुवाको सिफारिसमा आफूलाई अन्यायपूर्वक फालिएको विष्टको दाबी छ । प्रहरी महानिरीक्षकको प्रत्यक्ष मातहतमा रहेको प्रहरी कल्याणकारी कोषमा काम गरिरहेका विष्टले सिफारिस समितिबाट आफूमाथि अन्याय भएको भन्दै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई उजुरी गरिसकेका छन् ।

‘मैले नेताको फेर समात्न जानिनँ, त्यो विषयमा म विश्वास पनि गर्दिनथें, म काममा विश्वास गर्ने व्यक्ति भएकाले अन्तिम समयसम्म काम गरिरहन्छु, तर उनीहरूको फेर समातेर बढुवा हुन चाहन्नँ, कानुनी उपचारको बाटो अवलम्बन गर्छु,’ एसएसपी विष्टले भने ।

बढुवा समितिले एकजना डीआईजीको पद रिक्त भए पनि आजबाट ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउन लागेका दुई डीआईजीको पद रिक्त हुने जनाई तीनजनाको सिफारिस गरेको थियो । डीआईजीद्वय हेमन्त मल्ल ठकुरी र केशव अधिकारीले उमेर हदका कारण आज मंगलबारबाट अनिर्वाय अवकाश पाउँदै छन् । उनीहरूले अवकाश पाउनुअगावै बढुवा समितिले तीनजनालाई डीआईजीमा सिफारिस गरेको हो ।

एकजना मात्र बढुवा हुँदा प्रहरी महानिरीक्षक अर्याल निकै काबिल अधिकृत रहेको भन्दै एसएसपी केसीलाई डीआईजी बढुवा गर्न चाहे पनि उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भट्टराईको नामअघि सारेपछि मध्यमार्गी बाटो अवलम्बन गरी तीनजनाको सिफारिस गरिएको थियो । विवादका कारण लामो समयसम्म बढुवाको सिफारिस नै हुन सकेको थिएन ।

यता, आजबाट मल्ल र अधिकारीले अवकाश लिने भएका छन् । दुवै नेपाल प्रहरीका अब्बल अधिकृतका रूपमा परिचित छन् । नेपाल प्रहरीका प्रवक्तासमेत रहेका मल्ल यसअघि केन्द्रीय अनुसन्धान ब्युरो र लागूऔषध ब्युरोमा बसेर आपराधिक गिरोहलाई भण्डाफोर गर्न सफल भएका अधिकृत हुन् ।

राजधानी

Nepal Police Police

विशेष