भारतलाई झट्का, चीन–पाकिस्तानको योजनालाई रुसको साथ
पुस ५ । पछिल्लो समय भारतले आफ्नो निकट मित्र मानेको रुसले भारतकै मुख्य प्रतिद्वन्द्वी मानिएको मुलुक पाकिस्तान र चीनको साथ दिएपछि भारत स्तब्ध भएको छ ।
रुसले चीन–पाकिस्तान आर्थिक करिडोर सीपीइसी को समर्थन गरेको हो । यो करिडोरले युरेसियन आर्थिक संगठनलाई फाइदा पुग्ने भन्दै रुसले समर्थन जनाएको हो ।
सीपीइसीसँग रुसले आफ्नो युरेसियन इकोनोमिक युनियन प्रोजेक्टलाई जोड्ने बताएको छ । भारतले भने रुसको यो कदम आफ्नो लागि हानीकारक हुने ठहर गरेको छ ।
हालैमात्र रुससँग महत्वाकांक्षी रक्षा सम्झौता गरेको भारतले चीन र पाकिस्तानसँगको रुसको सम्बन्ध बढ्नुलाई आफ्नो प्रतिकुल मानेको हो । सीपीइसीले पाकिस्तान र चीनबीचको सम्बन्ध अझ बलियो हुनका साथै पाकिस्तानको आर्थिक र सामरिक शक्तिमा समेत बृद्धि हुने भारतको आंकलन छ ।
यसअघि पनि पाकिस्तान र रुसबीच सीपीइसीका बारेमा छलफल भएको समाचार प्रकाशमा आएको थियो । त्यतिबेला रुससमक्ष भारतले आपत्ति जनाएको थियो । रुसले उक्त करिडोरप्रति आफ्नो चासो नरहेको प्रतिक्रिया भारतलाई दिएको थियो ।
विज्ञहरुका अनुसार भविष्यमा सीपीइसीले पाकिस्तानको बलुचिस्तानस्थित ग्वादर र चीनको जिनजियाङ्गलाई जोड्ने छ । उक्त करिडोर पाकिस्तान अधिनस्थ कश्मिरको गिलगित–बाल्टिस्तान हुँदै गुज्रने छ, जसलाई भारतले आफ्नो भूभागका रुपमा दाबी गर्दै आएको छ ।
China India Pakistan Russia