News

प्रेस काउन्सिल पुरस्कार मरणोपरान्त बोहरा र न्यौपानेलाई प्रदान

प्रेस काउन्सिल पुरस्कार  मरणोपरान्त बोहरा र न्यौपानेलाई प्रदान

पुस-५ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट आज दुई पत्रकारलाई मरणोपरान्त पुरस्कृत गरेकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा दिवङ्गत पत्रकार कर्ण बोहरा र सञ्जय न्यौपानेका धर्मपत्नी क्रमशः ममता र राधिकालाई जनही रु दुई लाख ५० हजार राशिको सो पुरस्कार प्रदान गरिएको हो । कञ्चनपुरका पत्रकार बोहराको गत मङ्सिर ८ र ललितपुरका पत्रकार न्यौपानेको गत कात्तिक २० गते अल्पायुमा निधन भएको थियो । मिर्गौलापीडित धर्मपत्नी ममताको उपचारको रेखदेखका क्रममा रहेका कर्णको हृदयघात तथा न्यौपानेको मस्तिष्काघातको उपचारका क्रममा निधन भएको थियो । समारोहमा राष्ट्रपति भण्डारीले प्रेस स्वतन्त्रताको उपयोग गर्दा नागरिक स्वतन्त्रता र व्यक्तिको गोपनीयतालाई समेत ख्याल गर्न आग्रह गर्दै पेसागत मर्यादा उच्च बनाउन र पत्रकार प्रोत्साहन गराउन काउन्सिलको भूमिका महत्वपूर्ण भएको बताइन् । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पत्रकारितालाई सम्मान गर्नु लोकतन्त्रलाई सम्मान भन्दै पत्रकारिताले लोकतन्त्रलाई परिष्कृत तुल्याउन भूमिका निर्वाह गर्ने बताए । काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले असल काम गर्दा जीवनकालमा मात्र होइन मरणपछि पनि राष्ट्र र समाजले सम्मान गर्छ भन्ने सन्देश दिन सो पुरस्कार सफल भएको बताए ।

कर्ण बोहरा प्रेस काउन्सिल रासस सञ्जय न्यौपाने

विशेष