News

गाउँमै क्याम्पस स्थापनापछि उच्च शिक्षामा विवाहित छोरीबुहारी

गाउँमै क्याम्पस स्थापनापछि उच्च शिक्षामा विवाहित छोरीबुहारी
पुस - ५ । मानविकीमा स्नातक तह उत्तीर्ण गरेकी निता बुढाले विवाह हुँदा प्रमाण पत्र तह मात्रै उत्तीर्ण गरेकी थिइन् । उनले विवाहपछि क्याम्पस पढ्न टाढा जानु पर्ने भएको र परिवारले नपठाउँदा पढ्ने आशा नै मारेकी थिइन् । तर गाउँमै खुलेको क्याम्पसले उनको आशा फेरि जगाइदियो । अहिले गाउँकै क्याम्पसबाट निताले स्नातक तह पूरा गरेकी छन् । “क्याम्पस खुलेपछि परिवारसँग सल्लाह लिएर क्याम्पस भर्ना भई स्नातक तह पूरा गरी रोजगारीको खोजीमा लागेको छु,” उनले भनिन्, “अरुको भर पर्नुभन्दा आफ्नै खुट्टामा उभिने प्रयासमा छु ।” पढाइ पूरा नहुँदै विवाह भएका कञ्चनपुरको झलारी पिपलाडीका छोरीबुहारीले गाउँमै क्याम्पस खुलेपछि उच्च शिक्षा हासिल गरेका छन् । क्याम्पस खुलेको सात वर्षको अवधिमै एक हजार बढी विवाहित छोरीबुहारीले स्नातक तह उत्तीर्ण गरेका हुन् । उच्च शिक्षाका लागि महेन्द्रनगर, धनगढीलगायका क्षेत्रमा परिवारले पढ्नका लागि नपठाउँदा विवाहित छोरीबुहारीले थप अध्ययन गर्न पाएका थिएनन् तर गाउँमै क्याम्पस खलेपछि उनीहरुलाई सहज बनाएको झलारीस्थित श्रीकृष्णवैजनाथ बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष उद्धवराज भट्टले बताए । क्याम्पसमा पढ्नेमा ७० प्रतिशत छात्रा र त्यसमध्ये ६० प्रतिशत विवाहित महिला छन् । “सामुदायिक क्याम्पसमै पहिलो पटक अभ्यास परीक्षा प्रणाली लागू गरी छात्रछात्राको परीक्षा हुनुअगावै मूल्याङ्कन गरिने भएकाले परीक्षामा उत्तीर्ण हुने प्रतिशत पनि प्रतिवर्ष बढ्दो रुपमा पाएका छौँ” – अध्यक्ष भट्टले भने । उनका अनुसार सामुदायिक क्याम्पसमध्ये सबैभन्दा बढी यस वर्ष यहाँबाट ८० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । क्याम्पससँग आफ्नै भवन नहुँदा श्रीकृष्ण माविको कक्षा सकिए पछि क्याम्पसको कक्षा सञ्चालन हुँदै आएको छ । क्याम्पसका लागि जग्गा खरिद भइसकेको, नगरपालिका र संसदीय विकास कोषको सहयोगमा दुईतले क्याम्पस भवन निर्माणको कार्य अगाडि बढाइएको क्याम्पस प्रमुख गणेशबहादुर ऐरले ऐरको भनाइ छ । विसं २०६७ मा स्थापना भई सञ्चालन भएको क्याम्पसमा चालु शैक्षिक सत्रमा ११५ छात्र र २६० छात्रा अध्ययन गर्दै आएका छन् ।

उच्च शिक्षा छोरीबुहारी

विशेष