News

तिवारीको हत्या छानबिन गर्न चार सदस्यीय समिति गठन

तिवारीको हत्या छानबिन गर्न चार सदस्यीय समिति गठन
पुस - ५ । सरकारले नेकपा एमालेको भ्रातृ सङ्गठन युवा सङ्घ नेपालका रुपन्देही जिल्ला अध्यक्ष दुर्गाप्रसाद तिवारीको हत्याको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । गृह मन्त्रालयले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्माको संयोजकत्वमा आज चार सदस्यीय समिति गठन गरेको मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिए । उनले समितिले घटनाको छानबिन गरी सत्यतथ्य सहितको प्रतिवेदन १५ दिनभित्र मन्त्रालयलाई बुझाउने बताए । समितिले बुधबारदेखि नै काम थाल्ने छ । प्रवक्ता पन्थीका अनुसार समितिका अन्य सदस्यमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक यादवप्रसाद रेग्मी, वरिष्ठ प्रहरी उपरीक्षक मनोज न्यौपाने र गृह मन्त्रालयका उपसचिव शिवराज जोशी रहेका छन् । उनले गोली प्रहार गर्नेको खोजी भइरहेको भन्दै पक्राउ गर्नका लागि विभिन्न नाका र सीमावर्ती क्षेत्रमा विशेष अभियान सञ्चालन गरिएको जानकारी गराए । युवा सङ्घले आज गृहमन्त्री विमलेन्द्र निधिलाई भेटेर समिति गठन नगरे नेपाल बन्द जस्ता आन्दोलन गर्ने चेतावनी दिएको थियो । सोमबार तिवारीलाई मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले गोली हानेका थिए र तिवारीको उपचारका क्रममा देवदह मेडिकल कलेजमा ज्यान गएको थियो ।

दुर्गाप्रसाद तिवारी रासस

विशेष