News

लक्ष्मी परियारको हत्यामा झुटो विवरण लेख्न लगाउने प्रहरीलाई कारबाही माग

लक्ष्मी परियारको हत्यामा झुटो विवरण लेख्न लगाउने प्रहरीलाई कारबाही माग
पुस–६ । काभ्रेपलाञ्चोककी लक्ष्मी परियारको हत्यामा संलग्न दोषी र झुटो विवरण लेख्न लगाउने प्रहरीलाई कानुनी कारबाहीको माग गरिएको छ । दलित एकता सञ्जालका प्रतिनिधि र दलित अधिकारकर्मीले संयुक्त रूपमा गरेको स्थलगत अनुगमनपछि बुधबार पत्रकार सम्मेलन गरी पीडित परिवारलाई क्षतिपूर्ति र छोराछोरीको पठनपाठनको सुनिश्चितता गर्नुपर्ने माग गरे । जिल्लाको सानो बाङ्थली–७ की ३२ वर्षीया परियारको गत मङ्सिर २४ गते कुटपिटबाट हत्या भएको थियो । दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गर्दै संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति, दलित नागरिक समाज लगायतका विभिन्न सङ्घसंस्था तथा राजनीतिक दलका भ्रातृ सङ्गठनले विभिन्न सङ्घर्षका कार्यक्रम सञ्चालन गर्दै आएका छन् । अनुगमन टोली सदस्य हस्तबहादुर विकले परियारका श्रीमान् मिलन निर्दोष भएको हुँदा यथाशीघ्र थुनामुक्त गर्नुपर्ने माग गरे । परियारको हत्यारा, उक्त घटनामा संलग्न व्यक्ति तथा घटनालाई ढाकछोप गरी मेलमिलाप गराएको दलित अधिकारकर्मीले आरोप लगाउँदै आएका छन् । रासस

विशेष