News

मलाई यत्ति त छाडिदिनु भन्दै मन्त्री यसरी बुरुक्क बुरुक्क

मलाई यत्ति त छाडिदिनु भन्दै मन्त्री यसरी बुरुक्क बुरुक्क

राम कार्कीका नामले चिनिने संचारमन्त्री सुरेन्द्र कार्कीले रामलीला देखाएको भनि माओवादीवृत्तमा हैलाखैला मच्चिएको छ । रेडियो नेपालको कार्यकारी निर्देशकको नियुक्तिका विषयमा उनले प्रधानमन्त्री प्रचण्डको समेत आग्रह अटेर गरेपछि माओवादीवृत्त चकित परेको हो । निवर्तमान कार्यकारी निर्देशक सुरेशकुमार कार्कीलाई संचारमन्त्री कार्कीले निरन्तरता दिने अन्तिम प्रयास गरेका थिए । पटक–पटक उनको थमौतिका लागि उनले गरेको प्रयास प्रधानमन्त्री प्रचण्डले रोकिदिएका थिए । प्रचण्डले राजनीतिक नियुक्तिमा जनयुद्धकालदेखि जोडिएका पत्रकारलाई अवसर दिनुपर्ने अडान लिएका थिए । तर, कार्कीले जनयुद्ध लडेको अवसर लिन हो र भन्दै प्रचण्डसँग प्रतिवाद गरेको बुझिएको छ । कार्की थर र पूर्व क्षेत्रको नाता लगाउँदै सुरेशले संचारमन्त्रीलाई रिझाउँने प्रयास गरेका थिए । कार्की मन्त्री नियुक्त हुन नपाउँदै सुरेशले ‘मेरो दाइ’ भन्दै विभिन्न ठाउँ घुमाउन लगेका थिए । त्यसै मेसोमा राम्रै डिलिङ भएको र मन्त्री कार्की परिवन्दमा परेको माओवादी निकट पत्रकारका बीचमा चर्चा व्याप्त छ । प्रधानमन्त्री प्रचण्ड, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्य, प्रेस सेन्टरका अध्यक्ष र महासचिव महेश्वर दाहाल र विष्णु सापकोटा तथा कार्यकारी निर्देशकका दाबेदार सन्तोष पौडेल, दीपेन्द्र रोकायालगायतका सँग मन्त्री कार्कीले यसबीचमा बेग्ला बेग्लै तथा सामुहिक भेट गरेका छन् । पार्टीभित्र चौतर्फी आलोचना भएपछि उनले ‘रेडियो नेपालको कार्यकारी पद नै किन चाहियो ? यत्ति त मलाई छाडिदिनु’ भन्दै उफ्रन थालेका छन् । प्रधानमन्त्री प्रचण्डसँग आफुले अरुलाई नै वचन दिइसकेकाले अफ्ठयारो परेको भन्दै कार्कीले रेडियोको निर्देशक छोडिदिन विन्ति विसाएको बुझिएको छ । रेडियो नेपालको कार्यकारी निर्देशक हुँदा सुरेश कार्कीले पदीय दुरुपयोग गरेको आरोप लागेको थियो । उनी विरुद्धको मुद्धा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विचाराधीन छ । मधेशी दलको कोटाबाट निर्देशक नियुक्त भएका सुरेशले जनयुद्ध लडेका माओवादी पत्रकारलाई उछिन्ने गरी संचारमन्त्रीलाई कसरी रिझाए भन्ने प्रश्न माओवादीवृतको मुखैमा झुण्डिएको छ । प्रधानमन्त्रीलाई छल्न खुला आवेदन प्रधानमन्त्री प्रचण्डले पार्टीमा योग्य व्यक्ति रहेको भन्दै सुरेश कार्कीलाई निरन्तरता दिने मन्त्रीको प्रस्ताव अस्विकार गरिदिए । स्रोतका अनुसार तीन पटकसम्मको प्रयास असफल भएपछि मन्त्री कार्कीले राजनीतिक नियुक्ति हुँदै आएको पदमा समेत खुला आवेदन आह्वान गरिदिए । खुला आवेदनमार्फत आफुले चाहेका सुरेशलाई ल्याउने रणनीतिमा कार्की रहेको भन्दै माओवादी निकट पत्रकारका बीचमा हल्लीखल्ली मच्चिएको छ । रेडियो नेपालको कार्यकारी निर्देशका लागि निवर्तमान कार्यकारी निर्देशक सुरेश कार्की, माओवादी जनयुद्धकालीन रेडियोका संस्थापक सन्तोष पौडेल, माओवादी नेता अग्नी सापकोटाका छोरा एंव पत्रकार दीपक सापकोटा, दीपेन्द्र रोकाया, समाचार वाचिका कोमल वलीलगायतले आवेदन दिएको बुझिएको छ ।

रेडियो नेपाल सुरेन्द्र कार्की सुरेशकुमार कार्की

विशेष