ट्रम्प भन्दा २८ लाख बढी मत ल्याएकी हिलारीले किन हारिन
पुस ७ । अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्य्राटिक पार्टीबाट उम्मेद्वार बनेकी हिलारी क्लिन्टनले रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्पसँग अप्रत्यासित रूपले पराजय भोग्नु पर्यो। उनको पराजयले अधिकांश विश्लेषक र सर्वेक्षणलाई समेत गलत प्रमाणित गर्यो।
तर लोकप्रिय मत गणना हेर्ने हो भने हिलारीले चुनावमा निर्वाचित डोनाल्ड ट्रम्पभन्दा झन्डै २९ लाख मत धेरै प्राप्त गरेको अन्तिम गणनाले देखाएको छ।
चुनावको अन्तिम गणना अनुसार हिलारीले ६ करोड ५८ लाख ४४ हजार ६ सय १० मत प्राप्त गरेकी छन् भने डोनाल्ड ट्रम्पले ६ करोड २९ लाख ६९ हजार ६ सय ३६ मत पाएका छन्।
त्यसको अर्थ हिलारीले ट्रम्पभन्दा २८ लाख चौसट्ठी हजार ९ सय ७४ बढी मत पाएकी छन्।
हिलारीले सन् २०१२ को चुनावमा झण्डै बाराक ओबामाले प्राप्त गरेको मत प्राप्त गरेकी थिइन्। तर अमेरिकाको ‘इलेक्ट्रोल कलेज’ को पद्धति उनको पक्षमा भएन र उनी राष्ट्रपति पदमा निर्वाचित भइनन्।
उक्त पद्धति अनुसार हिलारीले ठूलो अन्तरले चुनाव हार्नु पर्यो। ‘इलेक्ट्रोल कलेज’को गणनामा उनले २२७ मत मात्र प्राप्त गरिन् भने ट्रम्पले ३०४ मत प्राप्त गरेका थिए।
इलेक्ट्रोल पद्धति अनुसार अमेरिकामा प्रत्यक्ष मत कसले धेरै पायो त्यो व्यक्ति राष्ट्रपति चुनिने होइन बरु कसले धेरै इलेक्ट्रोल कलेज प्राप्त गर्यो त्यो नै राष्ट्रपति चुनिन्छ।
१६ वर्षअघि सन् २००० को राष्ट्रपति निर्वाचनमा पनि डेमोक्रयाटिक पार्टीका उम्मेद्वार एल गोरले रिपब्लिकन पार्टीका उम्मेदवार जर्ज बुसभन्दा धेरै प्रत्यक्ष मत पाएका थिए तर इलेक्ट्रोल कलेज एल गोरको पक्षमा गएन। राष्ट्रपतिमा जर्ज डब्ल्यु बुस निवार्चित भए। प्रत्येक राज्यलाई इलेक्ट्रोल कलेज सो राज्यको जनसंख्या अनुसार केही थपघट भइरहन्छ। जस्तै क्यालिफोर्नियाको ५५ इलेक्ट्रोल कलेज छन् त्यस्तै दोस्रो ठूलो राज्य टेक्सासमा ३८ इलेक्ट्रोल कलेज छन्। त्यस्तै अमेरिकाको सानो राज्य मेएनमा जम्मा ४ इलेक्ट्रोल कलेज छन्।
सबै ५० राज्यको इलेक्ट्रोल कलेज जोड्दा जम्मा ५३८ हुन्छ। यही ५३८ मध्ये जसले ५० प्रतिशतभन्दा धेरै संख्या अर्थात् २७० पुर्याउँछ, त्यो नै अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन्छ।
त्यसैले अमेरिकाको राष्ट्रपतिका लागि कुन राज्यमा कसले जित्यो भन्ने छुट्टाउन मात्र प्रत्यक्ष मत गणना हुने गर्छ। कुनै पनि राज्यमा जसले धेरै प्रत्यक्ष मत पाउँछ, त्यो राज्यका सबै इलेक्ट्रोल कलेज जित्ने उम्मेद्वारले पाउँछ। हार्नेले एक इलेक्टोरल कलेज पनि पनि पाउँदैन। जस्तै, यसपालि क्यालिफोर्निया जितेर क्लिन्टनले त्यहाँको ५५ इलेक्ट्रोल कलेज प्राप्त गरिन् भने ट्रम्पले फ्लोरिडा जितेर २९ मत प्राप्त गरे।
अमेरिकाका दुई साना राज्य मेएन (४ इलेक्ट्रोल कलेज) र नेब्रास्का (५ इलेक्ट्रोल कलेज)मा भने उम्मेद्वारले हाउसको निर्वचन क्षेत्रमा पाएको मतका आधारमा इलेक्ट्रोल कलेज बाँडिन्छ। यसपालि मेएनमा क्लिन्टनलाई ३ र ट्रम्पलाई १ इलेक्ट्रोल कलेज प्राप्त भएको थियो।
इलेक्ट्रोल कलेजमार्फत् राष्ट्रपति चुनिने प्रणालीको अमेरिका भित्रै पनि आलोचना हुने गरेको छ। प्रत्यक्ष मत जसले धेरै पाउँछ त्यो नै राष्ट्रपति चुनिनु पर्ने आवाज अमेरिकामा योभन्दा पहिले पनि उठेको हो।
प्रायः जसले धेरै प्रत्यक्ष मत प्राप्त गर्यो त्यसले नै धेरै इलेक्ट्रोल कलेज पनि प्राप्त गर्ने गरेको छ। आजसम्म भएका ४५ वटा निर्वाचनमध्ये ५ निर्वाचन (सन् २०१६, सन् २०००, १८८८, १८७६ र १८२४) मा एउटा उम्मेद्वारले धेरै प्रत्यक्ष मत र अर्को उम्मेदवारले धेरै इलेक्ट्रोरल कलेज प्राप्त गरेको छ।
यो निर्वाचन प्रणाली सुधार गरेर जसले धेरै प्रत्यक्ष मत ल्याउँछ त्यो नै राष्ट्रपति चुनिने प्रणाली कायम गर्न अमेरिकाको हाउस अफ रिप्रेजेन्टिभले सन् १९६९ मा प्रस्ताव पारित गरेको थियो। तर, सिनेटले त्यो प्रस्ताव अस्वीकृत गरेपछि इलेक्ट्रोल कलेजमार्फत् नै राष्ट्रपति चुन्ने प्रणाली कायम रह्यो।
hilary clinton