News

अब के बुझ्ने ? विप्लव बन्द गर्ने, पूर्वराजा कडा बोल्ने, विप्लवका प्रियजनले राजासँग बेइमानी गरिएको भन्ने

अब के बुझ्ने ? विप्लव बन्द गर्ने, पूर्वराजा कडा बोल्ने, विप्लवका प्रियजनले राजासँग बेइमानी गरिएको भन्ने

नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव रोल्पाली ठकुरी हुन् । रोल्पाबाट बसाइ सराइ गरी कपिलवस्तु पुगेका विप्लप माओवादी युद्धको राप र तापसँगै राजनीतिक उद्देश्यले रोल्पा फर्किएका थिए । जहाँ उनी सुप्रिम कमाण्डर प्रचण्डको व्यवस्थापकीय जिम्मेवारीमा रहे, र प्रचण्डलाई नजिकबाट चिहाए । सिग्मण्ड फ्रायडको सिद्धान्तलाई राजनीतिकरुपमा अर्थाउने हो भने प्रचण्डसँग विप्लवको इडिपल कम्प्लेक्स छ । अर्थात प्रचण्डलाई ओभरटेक नगरी सत्तामा पुगिदैन, प्रचण्डलाई सोझो हिसावले उनकै मातहतमा रहेर ओभरटेक गर्न सकिदैन । यसर्थ उनले भिन्दै बाटो रोजेका छन् । विप्लप काठमाडौं प्रवेश गरेसँगै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्ददेखि विनयध्वज चन्दसम्मले उनको खोजी गरे । कुनैबेला राजकाजमा कब्जा जमाएका चन्दहरु विप्लवलाई आफ्नो विरासत थेग्ने पात्रका रुपमा हरतरहले मलजल गरिरहेका छन् । चन्द कनेक्सनले विप्लवलाई राजावादीहरुको शक्ति नियाल्ने मौका दियो । उठवस बढेसँगै विप्लवले राजावादीहरुलाई राष्ट्रवादीका रुपमा बुझ्ने मौका पाए । पार्टी विभाजित भएसँगै उनले सम्पूर्ण देशभक्तहरुको मोर्चा बनाउने अपिल गरे । सँगै, पूर्वराजा र राजावादीहरु सापेक्षितरुपमा देशभक्त भएको निष्कर्ष निकाले ।
देशको रक्षाका लागि चीनमा माओले च्याङ काइ सेकसँग सहकार्य गरेको दृष्टान्त माओवादीवृत्तमा कठस्थ छ । विप्लव देशको रक्षाका लागि पूर्वराजासँगको एकता उपयोगी हुने घोषित तर घुमाउँरो नीतिमा छन् । उनी आफैँले प्रष्ट नभनेपनि उनका निकटवर्तीहरु राजालाई शान्ति प्रक्रियामा धोका दिइएको खुला अभिव्यक्ति दिने गर्दछन् । दीपक चलाउने विप्लव माओवादीका आशालाग्दा युवा नेता हुन् । पूर्वछापामार मध्ये विप्लवलाई साथ दिने उनै बरिष्ठ कमाण्डर हुन् । चलाउनेले केही महिना अघि नेपालआजलाई दिएको अन्तरवार्तामा राजालाई धोका दिइएको भन्दै राजनीतिलाई चलायमान बनाइदिएका थिए । विप्लव माओवादीको बुझाइमा शान्तिप्रक्रियामा पहिला राजालाई र त्यसपछि माओवादीलाई धोका दिइएको हो । १२ बुँदे सहमतिमा गणतन्त्र ल्याउने कुरा नभएको चलाउनेको भनाइ छ । उनी प्रश्न गर्छन, ‘शान्ति प्रक्रियाको कुन चाहीँ बुँदामा गणतन्त्रको कुरा छ । राजनीतिमा बेइमानी गर्नु हुँदैन । राजामाथि बेइमानी गरिएको हो ।’ चलाउनेले दिएको यो अभिव्यक्ति अर्थपूर्ण छ । यो अभिव्यक्तिले देशभक्तका रुपमा अर्थाइएका राजावादीहरुलाई आर्कषित गर्ने ध्येय प्रष्ट छ । विप्लव माओवादी र राजावादीहरुको एउटा कुरा समान छः जारी राजनीतिक कोर्सलाई असफल बनाउने र अराजकता सृजना गरी कोर्सलाई आफु अनुकुल मोड्ने । अन्तिम उद्देश्य एउटै नहोला तर बीचको बाटो एउटै छः संविधान कार्यान्वयन हुन नदिने । यो संविधान असफल भएमा राजतन्त्र फर्कने पूर्वराजाको आशा छ । यो संविधान असफल भएमा प्रचण्ड विफल हुने र माओवादी मूल प्रवाह आफु बन्ने विप्लवको बुझाइ छ । यहीनेर दुबैको प्रहार प्रचण्डमाथि केन्द्रीत छ । राजा ज्ञानेन्द्रले पहिलो पटक प्रचण्डलाई नै निशाना बनाएर विज्ञप्तिमार्फत कडा दनक दिएका छन् । उनले क्रान्तिकारी, अग्रगामी आदि इतयादि शब्दजालमार्फत देश विभाजन गर्न खोजिएको भन्दै प्रचण्डमाथि गम्भीर प्रहार गरेका छन् । उता विप्लवले प्रचण्डलाई प्रतिक्रियावादीको मतियार देखिरहेका छन् । संयोग के भने विप्लवले बन्द घोषणा गरेको अघिल्लो दिन पूर्वराजाले मुख खोलेका छन् । विप्लव एकीकृत क्रान्तिको तयारीमा छन् । यो तयारीमा हतियारबद्ध युद्ध पर्दछ । विप्लवका सैन्य कमाण्डर चलाउने हतियार चलाउन धेरै समय बाँकी नरहेको बताउँने गर्दछन् । बन्द, चन्दा र कब्जाजस्ता गतिविधिमार्फत विप्लव माओवादी उपयुक्त जोखना हेरिरहेको छ । परिस्थिति अनुकुल देख्दावित्तिकै बिप्लवको हतियार पड्किने देखिन्छ । साइत र ग्रहदशा हेराएरमात्र दरबारले मुख खोल्ने गर्दछ । राजनीतिकरुपमा खाशै उथलपुथल केही भएको छैन । पाँच नम्बर प्रदेशमा देखिएको आन्दोलनपनि मत्थरप्राय छ । पृथ्वी जयन्तीपनि होइन । तर, पूर्वराजाको कडा विज्ञप्ति आएको छ । विप्लव तातेको बेला पूर्वराजा जागेको देखिन्छ । अर्थ अर्थपूर्ण र आंशकायुक्त छ ।

BIplav dipak chalaune Gyanendra

विशेष