News

निर्वाचनसँग सम्बन्धित विधेयकहरुकाे अध्ययन गरी सुझाव दिन उपसमिति गठन

निर्वाचनसँग सम्बन्धित विधेयकहरुकाे  अध्ययन गरी सुझाव दिन उपसमिति गठन
पुस - ७ । निर्वाचनसँग सम्बन्धित तीनवटा प्रस्तावित विधेयकलाई विस्तृत अध्ययन गरी सुझाव दिन व्यवस्थापिका–संसद्, राज्यव्यवस्था समितिले उपसमिति गठन गरेको छ । समितिको बिहीबार बसेको बैठकले ११ सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको हो । सो उपसमितिमा नेपाली काँग्रेसका तर्फबाट आनन्द ढुङ्गाना, ईश्वरी न्यौपाने र रामकृष्ण यादव, नेकपा एमालेको तर्फबाट गङ्गालाल तुलाधर, मानप्रसाद खत्री र रामेश्वर फुयाँल रहेका छन् । यसैगरी नेकपा माओवादी केन्द्रका तर्फबाट रेखा शर्मा, सन्तुकुमार दराई, तराई मधेस केन्द्रित दलका तर्फबाट धर्मेन्द्र साह तेली, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट विक्रमबहादुर थापा र साना दलका तर्फबाट नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल उपसमितिमा रहेका छन् । राज्यव्यवस्था समितिमा हाल निर्वाचन आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७३, राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७३ र मतदाता नामावलीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७३ विचाराधीन अवस्थामा रहेका छन् । ती विधेयकबारे विस्तृत अध्ययन गरी १५ दिनभित्र समितिसमक्ष सुझाव प्रस्तुत गर्न उपसमितिलाई समयावधि तोकिएको छ । यसैगरी समितिको वार्षिक प्रतिवेदन तयार गर्न गठित उपसमिति, सामाजिक सुधार व्यवहार ऐन, २०७३ अध्ययन उपसमिति, टीकापुर घटना अध्ययन उपसमिति र सशस्त्रवल प्रहरी नियमावली अध्ययन उपसमितिको समयावधिसमेत १५ दिनका लागि थप गरेको छ ।

रासस व्यवस्थापिका–संसद्

विशेष