News

भक्तपुरबाट चार बन्दकर्ता पक्राउ

भक्तपुरबाट चार बन्दकर्ता पक्राउ
पुस - ७ । नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादी समूहले बिहीबार आयोजना गरेको उपत्यका बन्दका क्रममा बन्द गराउँदै हिँडेको आरोपमा प्रहरीले भक्तपुरबाट चारजनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिकास्थित दोलखाली खाजा घरबाट माओवादी मजदुर सङ्गठनका केन्द्रीय सदस्य युवराज आचार्य, क्रान्तिकारी मजदुर सङ्गठनका जिल्ला अध्यक्ष विक्रम आचार्य, विप्लव समूहका भक्तपुर जिल्ला अध्यक्ष कुशल बोगटी र अखिल क्रान्तिकारीको भक्तपुर सचिव चित्रकमल ओलीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इले बताए । त्यसैगरी मध्यपुरथिमि नगरपालिका-१३ राधेराधेस्थित मध्य उपत्यकाको बा३ख २४६५ नम्बरको मिनीबसमा बन्दकर्ताले ढुङ्गा हान्दा एकजना घाइते भएका छन् । चालीसजना सवार बसमा ढुङ्गा हान्दा मोरड कटारी घरभई हाल सल्लाघारी बस्ने वर्ष ३५ का राजेश माझीमा घाइते भएपछि नागरिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बन्दकर्ताले सोही स्थानमा बा ७ च २१५० नम्बरको कारमा आक्रमण गरी सिसा फोडेका थिए । प्रहरीले बन्दकर्तालाई पक्राउ गर्न थालेपछि बिहान ११ बजेदेखि भक्तपुरमा सार्वजनिक यातायातका साधन निर्वाध रुपमा चलेका छन् ।भक्तपुरमा बन्दको प्रभाव परेको छैन । यहाँका बजार, यातायात र सरकारी एवं सामुदायिक विद्यालय संचालन भइरहेका छन् ।

उपत्यका बन्द रासस विप्लव

विशेष