News

लोकगायक थापाको निधन

लोकगायक थापाको निधन
पुस ७ । लोकगायक मधुबाबु थापाको ६३ वर्षका उमेरमा विहीबार निधन भएको छ । रेडियो नेपालमा करिब तीन दशकदेखि करार सेवामा कार्यरत् थापाको सानेपास्थित निवासमा अचानक बेहोस भएपछि उपचारका क्रममा बागबजारस्थित मोडेल अस्पतालमा निधन भएको नेपाली गीत–संगीतका अध्येता प्रकाश सायमीले जानकारी दिए । उनी विहीबार बिहान रेडियो नेपालमा आफ्नो कार्यसम्पादन पूरा गरी घर फर्किएका थिए । सायमीका अनुसार पिता प्रेमबहादुर तथा माता रेवादेवीबाट विसं २०१० वैशाख १५ मा दाङमा उनको जन्म भएको थियो । उनले वि।सं। २०३७ मा ‘आउ माया जालमा बुनु’ गीत पहिलोपटक रेडियो नेपालमा रेकर्ड गराएका थिए । शास्त्रीय, भजन, लोकगीत गरी करिब एक सय गीत गएका दृष्टिविहीन थापा शास्त्रीय संगीतमा तानपुरा बजाउँथे । उनका ‘काठमाडौंमा दोहरी’, ‘दशराग’लगायत १० एकल तथा दुई युगल एल्बम प्रकाशित छन् । उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि शुक्रबार बिहान नेपाल प्रज्ञा–प्रतिष्ठानमा राखिने छ । थापाका तीन छोरा र एक छोरी छन् ।

मधुबाबु थापा रासस

विशेष