१५ महिनामा १६ सय ३५ जनालाई अंगीकृत नागरिकता
पुस ८ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट १५ महिनामा १६ सय ३५ जनालाई अंगीकृत नागरिकता प्रदान गरिएको छ । नेपाली नागरिकता सम्बन्धी ऐन २०६३ र नियमावली २०६३ ले गरेको अंगीकृत नागरिकतासम्बन्धी व्यवस्थाअनुसार रुपन्देहीमा अंगीकृत नागरिकता लिनेको संख्या बढेको हो ।
नेपालको संविधान–२०७२ जारी भएयता रुपन्देहीमा १६ सय ३५ जनाले अंगीकृत नागरिकता पाएका छन् । यो ०७२ असोज ३ गते संविधान जारी भएदेखि ०७३ मंसिर मसान्तसम्मको तथ्यांक हो ।
इलाका प्रशासन कार्यालय मझगावा र इलाका प्रशासन कार्यालय बुटवलबाट पनि नागरिकता जारी हुने गरे पनि अंगीकृत नागरिकता भने जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट मात्र जारी हुन्छ ।
नेपालीसँग विवाह गरेका १५ सय ९१ जना वैवाहिक अंगीकृत र अन्य ४४ जना अंगीकृत नागरिकले नागरिकता पाएको सहायक प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । १६ सय ३५ अंगीकृत नागरिकता पाएकामा अधिकांश भारतीय छन् ।
संविधानको भाग २ धारा ११ को उपधारा ६ मा अंगीकृत नागरिकताको व्यवस्था गरिएको छ । अंगीकृत नागरिकता लिन चाहने विदेशी महिलाले आफ्नो मुलुकको नागरिकता त्यागेको हुनुपर्ने, त्यसको सूचना उक्त मुुलुकको सरकारलाई दिएको र त्यसको निस्सा (जानकारी) नेपाल सरकारलाई बुझाउनु पर्ने प्रावधान छ ।
अघिल्ला संविधान तथा नेपाली नागरिकता सम्बन्धी ऐन २०६३ र नियमावली २०६३ ले गरेको अंगीकृत नागरिकता सम्बन्धी व्यवस्थालाई नै हालको संविधानले निरन्तरता दिएको छ । वैवाहिक अंगीकृत नागरिकता लिन चाहने भारतीयले त्यहाँको ‘डिस्ट्रिक्ट मेजिस्ट्रेट’ कार्यालयबाट प्राप्त नागरिकता परित्याग गरेको पत्रको सक्कलप्रति नेपालको हुलाक कार्यालयमा दाखिला गरेको प्रमाण पेश गरेको हुनुपर्ने सहायक प्रजिअ रेग्मीले बताए ।
नेपालमा सम्बन्धित गाविस सचिव वा नगरपालिकाको वडा कार्यालयबाट विवाह दर्ताको कागज, पति नभए मृत्यु दर्ताको प्रमाणपत्र पेश गरेर प्रक्रिया पुर्याएपछि सहजै वैवाहिक नागरिकता पाइने व्यवस्था छ ।
संविधानमा अंगीकृत नागरिकलाई विभेद गरिएको भनेर मधेशी मोर्चामा संलग्न दलहरूले नागरिता सम्बन्धी पुरानो (अन्तरिम संविधान) अनुसारको व्यवस्थालाई कायम राख्न माग गरिरहेका छन् ।
तर, रुपन्देहीलगायत तराईका जिल्लाहरूमा नेपालको संविधान जारी भएपछि वैवाहिक र अंगीकृत नागरिकता लिनेको संख्या ह्वात्तै बढेर गएको छ ।
अंगीकृत लिन यस्तो छ व्यवस्था
नेपालको संविधान २०७२ को भाग २ अनुसार नेपाली नागरिकता वंशज, अंगीकृत र आवासीय गरी तीन प्रकारले पाउन सकिने व्यवस्था छ ।
अंगीकृत नागरिकता पनि दुई प्रकारले पाउन सकिने व्यवस्था छ, वैवाहिक अंगीकृत र जन्मको आधारमा ।
नेपालको कानुनअनुसार विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाका श्रीमानले अंगीकृत नागरिकता पाउने सवालमा ती विदेशी लगातार १५ वर्ष नेपालमा बसेको हुनुपर्ने र आफ्नो देशको नागरिकता त्यागेको हुनुपर्ने विद्यमान व्यवस्था छ तथापि नेपाली पुरुषको हकमा विदेशी महिलासँग विवाह गरेको भोलिपल्टै ती विदेशी महिलाले नागरिकता पाउने प्रावधान छ ।
त्यसैगरी नेपाली आमा र विदेशी बाबुको सन्तानले अंगीकृत नागरिकता पाउने तर विदेशी बाबुले नेपाली नागरिकता पाइसकेको खण्डमा भने सन्तानले वंशजको आधारमा नागरिकता पाउने प्रावधान नेपालको कानुनमा छ ।
angikrit