News

भूकम्पले क्षति पुर्याएका घरको फोटोसहितको विवरण सङ्कलन गरिने

भूकम्पले क्षति पुर्याएका घरको फोटोसहितको विवरण सङ्कलन गरिने
पुस - ८ । भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि चितवनमा भूकम्पले क्षति पुर्याएका घरको फोटोसहितको विवरण सङ्कलन गरिने भएको छ । उक्त अभियानको प्रक्रिया सुरु भएको तथ्याङ्क कार्यालय चितवनले जनाएको छ । पछि कुनै विवाद आए पनि सल्ट्याउने सहज हुने भएकाले प्रत्येक घरको फोटोसहितको विवरण सङ्कलन गरिने जिल्ला तथ्याङ्क कार्यालय चितवनका प्रमुख तथा भूकम्पपीडित विवरण सङ्कलन कार्यक्रमका संयोजक जीवनाथ आचार्यले जानकारी दिए । फोटोसहितको मतदाता नामावली सङ्कलन भएजस्तै यसपटक भूकम्पले क्षति पुर्याएको घरको अवस्था अध्ययन गरी फोटोसमेत सङ्कलन गरिने आचार्यले जानकारी दिए । यसका लागि जिल्लामा ५२ जना इन्जिनियर र ५२ जना सामाजिक परिचालक परिचालन गर्ने उनले बताए । उनका अनुसार जुन दिन तथ्याङ्क सङ्कलन गरिएको हुन्छ, त्यही दिननै सिंहदरबारको सूचना केन्द्रलगायत सम्बन्धित क्षेत्रमा पठाइने व्यवस्थासहित विवरण सङ्कलनको तयारी गरिएको छ । चितवन जिल्लामा अहिले १८ हजार सात सय ५२ परिवारले भूकम्पपीडित भनेर राहतका लागि निवेदन दर्ता गराएका छन् । हालै सुरु भएको भूकम्पपीडितको पुनः लगत सङ्कलनका क्रममा यसरी पीडितहरुको निवेदन सङ्कलन भएको हो । सामान्य क्षतिसहित विगतमा चितवनमा १५ हजार सात सय ४९ भूकम्पपीडितको तथ्याङ्क आएकोमा अहिले बढेर १८ हजार सात सय ५२ पुगेको हो । चितवनका स्थानीय विकास अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका सदस्य सचिव श्रवणकुमार पोखरेलले गाउँ÷गाउँ, नगरपालिका र गाविसमार्फत लगत सङ्कलन गरिएको बताए । पहिलो चरणमा सरकारबाट १५ हजार पाएका र दोस्रोचरणमा न्यानोकपडाका लागि १० हजार पाएकाको प्रमाण एवम् रातो कार्डको आधारमा मात्रै उनीहरुलाई पुनःनिर्माणका लागि सरकारले रु तीन लाखको राहत प्याकेज दिने छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईले भूकम्पबाट कम प्रभावित जिल्लामासमेत पुनःनिर्माणको काम सुरु गरेपछि जिल्लामा पुनः लगत सङ्कलन गरिएको हो । चितवनलगायत १७ जिल्लामा लगत सङ्कलन थालिएको छ ।

फोटोसहितको मतदाता भूकम्प

विशेष