News

​अख्तियारका निलम्बित प्रमुख कार्कीविरुद्धको सुनुवाइ पुस २१ मा

​अख्तियारका निलम्बित प्रमुख कार्कीविरुद्धको सुनुवाइ पुस २१ मा
पुस–८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तिविरूद्धको मुद्दामा सर्वोच्च अदालतमा यही पुस २१ गते पुनःसुनुवाइ हुने भएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासमा लोकमानसिंहविरुद्धका मुद्दामा सुनुवाइ बिहीबारदेखि सुरु भएको हो । उनकाे तर्फबाट शुक्रबार अधिवक्ता बालकृष्ण न्यौपाने र माधव बस्नेतले बहस गरे । रिट निवेदक ओमप्रकाश अर्यालका तर्फबाट अधिवक्ता रमेश बडाल, डा सुरेन्द्र भण्डारी, टीकाराम भट्टराई, गोविन्द बन्दी, डा चन्द्रकान्त ज्ञवाली, शम्भु थापा, रवि खनाल, सुनिल पोखरेल, विजय मिश्रलगायतले बिहीबार बहस गरेका थिए । लोकमानसिंहको नियुक्ति संविधान विपरीत भएको जिकिर गर्दै अधिवक्ता अर्यालले रिट निवेदन दायर गरेका थिए । खारेज भइसकेको अधिवक्ता अर्यालको निवेदन सर्वोच्च अदालतले पुनरवलोकन गर्ने निर्णय गरेको थियो । लोकमानसिंहका पक्षबाट बिहीबार सहमहान्यायाधिवक्ता किरण पौडेलले बहस गरेका थिए । उनको नियुक्ति संविधानसम्मत भए–नभएको सुनुवाइपछि निर्णय आउनेछ । पूर्व कानुन सचिव प्रमोद कार्कीविरुद्ध पनि अदुअआका निलम्बित प्रमुखको मुद्दाका सिलसिलामा म्याद तामेलीमा अवरोध गरेको अभियोग लागेको छ । यसैबिच अदालतले लोकमानसिंह र पूर्व कानुन सचिव प्रमोदलाई आफ्नो मुद्दामा वारेस राख्न पाउने सुविधा दिएको छ । मुद्दामा आफैँ स्वयम उपस्थित हुनु नपर्ने सुविधा शुक्रबारको पूर्ण इजलासले उनीहरुलार्इ दिएकाे हाे । यसअघि उनीहरु आफैँ मुुद्दाको पेसी बुझ्न आउनुपर्ने थियाे । म्याद तामेली अवरोध गरेको मुद्दाको सुनुवाइपछि कार्कीद्वयलाई वारेस राख्ने सुविधा दिएको हो । आफ्नो मुद्दाको वारेस बुझ्न आएका कार्कीविरुद्ध दुव्र्यवहार भएपछि कार्की पक्षका अधिवक्ताले वारेस राख्न पाउनुपर्ने निवेदन दिएका थिए ।  रासस

लोकमानसिंह कार्की सर्वोच्च अदालत

विशेष