News

थप विद्युत् उपत्यकामा ल्याउन समस्या

थप विद्युत् उपत्यकामा ल्याउन समस्या
पुस - ९ । नेपाल विद्युत् प्राधिकरणले भारतबाट थप विद्युत् आयात गरेपनि तत्काल काठमाडौं उपत्यकामा ल्याउन समस्या हुने बताएको छ । निर्माणको क्रममा रहेको खिम्ती–ढल्केबर प्रसारणलाइन र हेटौंडा–स्यूचाटार प्रसारणलाइनको काम जारी रहेका कारण भारतबाट थप विद्युत् आयात भएपनि काठमाडौ ल्याउन समस्या हुने भएको हो । भारतबाट आयात हुने थप विद्युत् हेटौंडासम्म ल्याइने र पश्चिम र राजधानीनजिकका आयोजनाबाट पूर्व पठाइएका विद्युत् राजधानीमा नै केन्द्रित गर्ने तयारी नेपाल विद्युत् प्राधिकरणको रहेको छ । भारतबाट यही पुस १७ गतेबाट ४० मेगावाट विद्युत् थप हुनेछ भने आगामी माघ १६ गतेबाट थप ४० मेगावाट विद्युत् आयात गर्ने गरी भारतीयपक्षसँग विद्युत् खरिद सम्झौता गरिएको छ । ढल्केबर केन्द्रबाट आयात हुने विद्युत्लाई तत्काल हेटौंडा ल्याउने गरी आवश्यक व्यवस्था मिलाइएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । खिम्ती–ढल्केबर प्रसारणलाइनको काम यसै महिनाको अन्त्यसम्म सम्पन्न गर्ने तयारी गरिएको छ । आगामी हिउँदमा काठमाडौंलाई विद्युत्भार कटौतीमुक्त गराउन सबै उपाय अवलम्बन गरिरहेको प्राधिकरणले खिम्ती–ढल्केबर प्रसारणलाइन निर्माण सम्पन्न भएपछि भने सहजरुपमा भारतबाट ल्याइएको विद्युत् खिम्ती–काठमाडौं प्रसारणलाइनबाट राजधानी भित्र्याउने छ । यस्तै, हेटौंडा–स्यूचाटार प्रसारणलाइनको स्तरोन्नतिको काम जारी रहेको र त्यसका लागि एकाध महिना समय लाग्ने भएकाले उपयुक्त विकल्पकोरुपमा खिम्ती–ढल्केबर प्रसारणलाइनलाई नै लिइएको छ । मुलुकभित्रका विद्युत्गृहबाट हेटौंडातर्फ प्रवाह गरिएको बिजुलीलाई काठमाडौंतर्फ मोड्न सकिने भएकाले विद्युत्भार कटौती अन्त्य गर्न सहज हुने प्राधिकरणको विश्वास रहेको छ ।

नेपाल विद्युत् प्राधिकरण रासस

विशेष