व्यापार

कन्याममा घोडा व्यवसाय उकालो लाग्दै

कन्याममा घोडा व्यवसाय उकालो लाग्दै
पुस ९ । पर्यटकीय मौसम सुरू भएसँगै इलाम सूर्याेदय नगरपालिकाका सोमबहादुर तामाङलाई दिनभर फुर्सद छैन । घोडामा चढाएर पर्यटक डुलाउनमै उनी व्यस्त छन् । चियाबारीको सुन्दरता हेर्न कन्याममा आउने पर्यटक अचेल एकपटक घोडा नचढी फर्कंदैनन् । ग्रामीण भेगमा ढुवानीको भरपर्दो परम्परागत साधन घोडा अहिले पर्यटक रमाउने साधन बनेको छ । घोडा चढेर पर्यटक रमाउन थालेपछि अहिले घोडावालाको आम्दानीका स्रोतसमेत बढेको छ । पर्यटकलाई घोडामा चढाएर घुमाउँदा राम्रो आम्दानीसमेत हुन थालेपछि आफूले यो पेसा अंगालेको तामाङ बताउँछन् । दिनभर घोडा डुलाउँदा रु. एक हजारदेखि रु. एक हजार पाँच सयसम्म आम्दानी गर्ने गरेको उनी बताउँछन् । हरेक वर्ष कात्तिक पहिलो सातादेखि पुस अन्तिमसम्म घोडासँगै उनी कन्याममा पर्यटक डुलाउन व्यस्त हुने गर्छन् । उनीसंगै पर्यटकीय मौसममा घोडा व्यवसाय सञ्चालन गरेर आम्दानी गर्ने यहाँ धेरै छन् । कन्याम आसपासका क्षेत्रमा अहिले ३० जना भन्दा बढीको आयआर्जनको गतिलो माध्यम घोडा व्यवसाय बनेको छ । ‘घोडाले सामान ढुवानी गर्न मद्दत पु¥याएको त छ नै, उनी भन्छन् । “पर्यटक लोभ्याउने साधन समेत बनेको छ ।” कन्यामका डाँडाकाँडा पु¥याउने, चियाबारी घुमाउने दुरीको हिसाबले शुल्क लिने गरेका छन् । कन्याममा घोडा चढेर फोटो खिचेको रु. ५० र घोडा चढेर घुम्नेका लागि रु एक सय शुल्क निर्धारण गरिएको छ । दैनिक हजाराँैंको संख्यामा आउने पर्यटक डुलाउनका लागि ३५ वटा घोडा सूर्योदय नगरपालिकामा दर्ता छन् । कन्याममा पर्यटकका लागि घोडा सञ्चालनमा आएकाले सूर्योदय नगरपालिकाले समेत राम्रो आम्दानी गरिरहेका छन् । एकजना घोडावालाले वार्षिक रु. छ हजार सेवा शुल्क नगरपालिकालाई बुझाउने गरेका छन् । पिकनिक मनाउन कात्तिक पहिलो सातादेखि नै कन्याममा घुइँचो लाग्ने गरेका छन् । त्यहाँ वनभोज खानकै लागि पोखरा, उदयपुर, धनुषा, दाङ, भोजपुर, पाल्पा, सुनसरी, मोरङ, कैलाली, झापा, मोरङका साथै भारतको दार्जी्लिङ, सिक्किम, जलपाइगुडी, मिरिकलगायतका ठाउँबाट पर्यटक आउने गरेका छन् । कन्याम आएका बेला एकपटक नचढी कोही फर्केका छैनन्’, पश्चिम कैलालीदेखि दार्जीलिङसम्मका सयौं पर्यटकलाई घोडामा चढाएर घुमाइसकेका तामाङ भन्छन् ‘घोडा पर्यटकको पहिलो रोजाइ नै बनेको छ ।’ १० वर्षदेखि कन्याममा घोडा व्यवसाय सञ्चानलमा आएपछि उल्लेख्य रूपमा आन्तरिक एवम् बाह्य पर्यटकहरू बढेका छन् ।

kanyam

विशेष